१३ बैशाख २०८१, बिहिबार

नयाँ नक्शाबारे बोल्दा विवादमा तानिएपछि नायिका वर्षा राउतले आफ्नो धारणा सार्वजनिक गरिन्

प्रकाशित मिति :  24 May, 2020 12:37 pm


काठमाण्डौं, ११ जेठ ।

नायिका वर्षा राउतले आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएपछि मुख खोलेकी छन् । समाजिक सञ्जाल फेसबुकमा राउतले गलत अर्थ लागेको भए क्षमा मागेकी छन् ।

उनले भनेकी छन्,‘ कलाकार हुँ, त्यसमाथि अलि भावुक स्वभावकी छु त्यसैले सकेसम्म कुनै पनि प्रकारको विवादबाट टाढा रहन खोज्छु । तर, हिजो एउटा अन्तरवार्तालाई लिएर जुन हो-हल्ला गरियो, त्यसले मलाई भावनात्मक ठेस पुगेको छ ।’

राउतले बोल्दा कुनै कुरामा चुकेपनि आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा अलिकतिपनि नचुकेको उल्लेख गरेकी छन् । उनले भनेकी छन्,‘ हो, प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन, अलिकति पनि माथि-तल परेकी छैन ।’

राउतले थप भनेकी छन्,‘संसारको कुन नागरिकलाई आफ्नो मातृभूतिप्रति माया हुँदैन होला र ? त्यसमाथि ‘नेपाली कलाकार’ भनेर हाम्रो त पहिचान नै देश र राष्ट्रियतासँग जोडिएको हुन्छ । आफ्नो परिचयलाई नै अङ्गिकार गर्न सक्ने यति ठूलो र महान् सम्मानलाई म उच्च ओहोदामा राख्छु । म नेपाली हुँ, मलाई गर्व छ ।’

नायिका राउतले हाल लिम्पियाधुरा,लिपुलेक र कालापनीसम्मको भूमिलाई समेटेर जुन नक्शा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तब्यनिष्टता देखाएको छ त्यसको समर्थनमा आफू अग्रपंक्तिमा उभिन तयार रहेको बताएकी छन् ।

नायिक राउतले भनेकी छन्,‘ तर यो मजस्तो एउटा व्यक्ति, एउटा नागरिकमात्रले समर्थन गरेर हुँदैन । हामी सबै नेपाली सँगै उभिएर समर्थन गर्नुपर्छ । समर्थन गर्नुपर्छ वार्ता गर्ने उचित वातावरणको, समर्थन गर्नुपर्छ तथ्य र सत्यको, समर्थन गर्नुपर्छ हामी दुई छिमेकीको प्रगढ सम्बन्धको, समर्थन गर्नुपर्छ हाम्रो रोटी-बेटी सम्बन्धको, र सबैभन्दा धेरै समर्थन गर्नुपर्छ मानवता र मानवधर्मको । यस्तो संवेदनशील समयमा भड्काउ तत्त्वहरूले आक्रमण गर्न सक्छन्, दुई देशको अन्तरदेशीय सम्बन्ध बिगार्न सक्छन् जुन कुरा भारतीय मिडियाले उचालेका केही शब्दहरूबाट देखिन थालेको छ । यस्तै असभ्य र असत्य पत्रकारिता हाम्रो मिडियाले पनि नगरोस्, मैले यही भन्न खोजेकी हुँ ।’

राउतको भनाई छ,‘नेपाल मेरी जननी जन्मभूमि हुन् । नेपाली सबै हामी दाजुभाई  दिदीबहिनी हौं । नेपाली चेली मनीषा कोइराला दिदीले भनेका कुरालाई जसरी गर्वका साथ मैले सेयर गरें त्यसरी नै नेपाली भावनलाई म खुसीका साथ प्रस्तुत गर्न सधैँ तयार छु ।’

राउतले प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोलेका केही शब्दमा हेक्का नभएकाले केही गल्ती बोलेँको हुन सक्ने र टेढिएर गलत अर्थ लागेको हुन सक्ने भन्दै क्षमा मागेकी छन् । उनले अब यसरी बोल्दा पक्कै हेक्का राख्ने बताएकी छन् ।

           सम्बन्धित समाचार

नेपालको नयाँ नक्शाबारे बोलेर विवादमा परिन नायिका वर्षा राउत(भिडियोसहित)



प्रतिक्रिया दिनुहोस !