१६ चैत्र २०८०, शुक्रबार

रुकुम पश्चिमको घटना छानविन गर्न सरकारद्धारा समिति गठन, बेपत्ता खोजी गर्न गोताखोर परिचालन गरिने

प्रकाशित मिति :  26 May, 2020 12:21 pm


काठमाण्डौं, १३ जेठ ।

सरकारले रुकुम पश्चिमको चौरजहारी घटना  छानविन गर्न ५ सदस्यीय छानविन समिति बनाएको छ । गृह मन्त्रालयले मन्त्रालयका सहसचिवको नेतृत्वमा छानविन समिति बनाएको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए ।

सहसचिवको नेतृत्वको छानविन समितिमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुन्धान विभागका अधिकृत प्रतिनिधि, महान्यायाधिवक्तको कार्यालयका अधिकृत प्रतिनिधि र गृहमन्त्रालयकै उपसचिव रहने छन् ।

राष्ट्रिय सभाको बैठकमा घटनाबारे जानकारी दिदै गृहमन्त्री थापाले समितिले घटनाको सत्यतथ्य छानविन गरि रायसहितको प्रतिवेदन तयार गर्ने जानकारी दिए। गृहमन्त्री थापाले घटनामा वेपत्ता ३ जनाको खोजीका लागि गोताखोरको टोली परिचालन गर्ने बताएका छन् ।

उनले जातीय सद्भाव,सामाजिक सद्भाव र शान्ति सुरक्षालाई मजबुत बनाइ राख्न रुकुम पश्चिम र जाजरकोट प्रहरीबीच समन्वयात्मक ढंगबाट काम भइरहेको समेत जानकारी दिए । घटनापछि भेरी नगरपालिका वडा नंं. ११ का १८ बर्षीय लोकेन्द्र सुनार, १८ बर्षकै सञ्जु वि.क. र १७ वर्षीय गोविन्द शाही सम्पर्क विहिन छन् ।

उनीहरु भेरी नदिमा वेपत्ता भएको आशंका गरिएको छ । तीन जनाको भने शव भेटिएको छ । घटना भएकै दिन शनिबार राति १० बजेतिर केटी लिन भनेर रुकुम पश्चिमको चौरजहारी सोती गाउँ पुगेका २१ वर्षीय नवराज विकको र २० वर्षीय टीकाराम सुनारको शव आइतबार विहान सानी भेरी नदी किनारमा फेला परेको थियो ।

घटनामा संलग्न भएको आशंकामा रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको गृहमन्त्री थापाले जानकारी दिए ।

प्रेम सम्बन्ध रहेको भन्दै मल्ल थरकी केटी भगाउन जाजरकोटका दलित युवा केटाहरुसहित चौरजहारीको सोती पुगेपछि घटना भएको थियो ।



प्रतिक्रिया दिनुहोस !