१६ चैत्र २०८०, शुक्रबार

नेपालमा पनि सलहकाे जाेखिम रहेकाे सरकारकाे निष्कर्ष, प्राविधिक समितिले काम थाल्याे

प्रकाशित मिति :  27 May, 2020 6:14 pm


सलहकाे हुल । तस्वीरः विश्व वैंक

काठमाडाैं, १४ जेठ ।

अफ्रिकन मुलुकमा भाेकमरीकाे कारक बन्दै गरेकाे सलह किराकाे जाेखिम नेपालमा पनि पर्न सक्ने सरकारले निश्कर्ष निकालेकाे छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयकाे सचिवस्तरिय वैठकले पाकिस्तान हुँदै नेपालसम्म सलह आइपुग्न सक्ने निचाेड निकालेकाे हाे ।

याे वर्षकाे सुरूवातमै अफ्रिकन मुलुकमा सलहले बाली सखाप पर्दा भाेकमरीकाे जाेखिम बढेकाे भन्दै संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठन (एफएओ) ले विश्वका मुलुकहरूलाइ पूर्वतयारी गर्न सचेत बनाएकाे थियाे । ठूलाे समूहमा उडेर यात्रा गर्ने सलह किरा पाकिस्तान हुँदै पश्चिम क्षेत्रबाट नेपाल भित्रन सक्ने अनुमान मन्त्रालयकाे छ ।

कृषि सचिव राजेन्द्र भारीकाे अध्यक्षतामा मंगलबार मन्त्रालयमा बसेकाे वैठकले सलहकाे प्राविधिक र जैविक पक्षकाे अध्ययन तथा नेपाल प्रवेश गरि गर्न सक्ने क्षति र पूर्वतयारी बारे याेजना बनाउन प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेब हुमागाईंकाे संयाेजकत्वमा प्राविधिक समिति गठन गरेकाे छ ।

समितिले बुधबारदेखि काम थालेकाे मन्त्रालयका प्रवक्ता हरि बहादुर केसीले बताए । समितिले किरा व्यवस्थापन लागि विषादीकाे माैज्दात, आयात गर्नुपर्ने भए तयारी आदिका बारेमा आयातकर्तासँग समन्वय गर्न प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रलाई जिम्मेवारी दिने निर्णय समेत भएकाे उनले बताए ।

काेराेनाकाबीच कृषि कर्म जारी रहे पनि नेपालकाे खेतिपातीमा राेग किराकाे प्रकाेपले चुनाैति थपिएकाे छ । देशभित्रै मकैबालीमा फाैजी किराकाे प्रकाेप बढेसँगै सलह किराकाे जाेखिम बढ्दा नेपालकाे खाद्य सुरक्षा समस्यामा पर्न सक्ने विज्ञहरू धारणा छ ।



प्रतिक्रिया दिनुहोस !