१३ बैशाख २०८१, बिहिबार

रुकुम पूर्वमा पीसीआर परीक्षणको दायरा बढाउन सांसद रोकाको माग,सचेतता अपनाउन आग्रह

प्रकाशित मिति :  28 May, 2020 11:00 am


काठमाण्डौं, १५ जेठ ।

रुकुम पूर्वमा पनि बुधबार कोरोना संक्रमणको पुष्टि भएपछि सांसद् कमला रोकाले सचेतता अपनाउन जिल्लावासीलाई आग्रह गर्दै सुरक्षाका लागि थप पहल गर्ने प्रतिबद्धता जनाएकी छन् ।

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा ३ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि सांसद रोकाले स्वास्थ्य परीक्षणको दायरा बढाउनुपर्नेमा जोड दिएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा सांसद रोकाले भनेकी छन्,‘सम्पूर्ण रुकमेली दाजु भाई तथा दिदी बहिनीहरूलाई उच्च मनोबलका साथ यो महामरी बिरुद्धको लडाइमा बिजय हासिल गर्न अनुरोध गर्दछु । सँगसँगै प्रदेश र सँघ सरकारले बिशेश प्राथमिकतामा राखेर पिसीआर परीक्षणको दायरालाई तिब्र गतिमा बढाओस भन्ने विशेष माग गर्दछु ।’

संसदको बजेट अधिवेशनका लागि काठमाडौंमा रहेकी सांसद रोकाले आफ्नो तर्फबाट आवश्यक पहल र केन्द्रबाट उपलव्ध हुने सहयोगका लागि पहल गर्ने प्रतिवद्धता जनाएकी छिन् । पूर्वमन्त्री र नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय सदस्य समेत रहेकी उनले कोरोनाको त्रासका कारण उव्जेको समस्याको समाधानका लागि सबै सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड दिएकी छिन् ।

सांसद रोकाले लकडाउन सुरु भएपछि जिल्ला पुगेकी उनले स्वास्थ्य सामग्री समेत उपलव्ध गराएकी थिइन् । सांसद रोकाले स्थानीय तहलाई क्वारेन्टाइनको निर्माण गर्न र अन्य आवश्यकीय तयारी गर्न प्रशासन र स्थानीय तहसँग समन्वय र छलफल गरिरहेको समेत बताएकी छिन् ।
सांसद रोकाले कोरोना सँक्रमितको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेकी छन् । रोका रुकुमपूर्वबाट प्रतिनिधि सभा सांसद हुन् ।



प्रतिक्रिया दिनुहोस !