८ बैशाख २०८१, शनिबार

कोरोना रोकथाम र नियन्त्रणका लागि ६ अर्ब रुपैयाँ बजेट विनियोजन

प्रकाशित मिति :  28 May, 2020 6:18 pm


काठमाण्डौं, १५ जेठ ।

सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आज सङ्घीय संसद्मा बजेट आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट भाषणमा अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न तत्काल आवश्यक पर्ने औषधि, उपकरण तथा उपचार सामग्री कम हुन नदिन छ अर्ब रुपैयाँ बजेट व्यवस्था गरिएको जानकारी दिए ।

उनले बजेट भाषणमा कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रण तथा थप विस्तार हुन नदिनका लागि उच्च जोखिमयुक्त क्षेत्रमा परीक्षणको दायरा बढाउन गुणस्तरसहितको थप क्यारेन्टाइनको स्थापना भरपर्दो उपचार सेवा प्रवाह गर्न र नागरिकमा भएको मनोवैज्ञानिक त्रासलाई सम्बोधन गर्न आवश्यक स्रोतको व्यवस्था मिलाइएको समेत बताए ।

चिकित्सक, स्वास्थ्यकर्मी तथा प्रयोगशालामा काम गर्ने कर्मचारीका लागि व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र सेवामा उत्प्ररित गर्न प्रोत्साहन भत्ताको व्यवस्था मिलाइएको उनले बताए ।

बजेटमा कोरोनालगायत अन्य सङ्क्रामक रोगविरुद्ध कार्यरत रहेका सबै स्वास्थ्यकर्मीलाई पाँच लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य जीवन बीमा बजेटमा गरिएको छ । आगामी वर्ष काठमाडौँ उपत्यकामा ३०० श्ययाको सुविधा सम्पन्न छुट्टै सरुवा रोग अस्पताल निर्माण गर्नका लागि बजेट विनियोजन गरिएको छ ।

काठमाडौँ उपत्यका र बाहिरका सरकारी अस्पतलामा थप २ सय ५० शैयाका सघन उपचार कक्ष निर्माणका र सबै प्रदेश राजधानीमा ५० शैयाको सरुवा रोग अस्पताल सञ्चालन गरिने बजेटमा उल्लेख गरिएको छ ।

बजेटमा पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी, नारायणी, भरतपुर, भेरी र डडेल्धुरा अस्पतालको स्तरोन्नति गरी विशेषज्ञ अस्तपालकारुपमा विकास गर्दै लगिने उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !