११ बैशाख २०८१, मंगलबार

दुध पाेख्नेप्रति किसान र उद्याेगीकाे विराेध, भन्छन्ः ‘हाँसी हाँसी दुध पाेख्ने किसान हाेइनन्’

प्रकाशित मिति :  3 April, 2020 6:29 pm


सामाजिक संजालमा धेरै सेयर भएकाे दुध पाेख्दै गरेकाे फाेटाे ।

काठमाडाैं, २१ चैत । 

सामाजिक संजालमा किसानले दुध विक्री नभएपछि दुध विक्री नभएकाे भन्दै दुध पाेखिरहेकाे फाेटाे भाइरल भएकाे छ । फाेटाेलाइ लिएर कतिपयले किसान र उद्याेगीलाइ सहानुभुति देखाएका छन् । तर, फाेटाे र यससँग सम्बन्धित समाचारलाइ लिएर दुग्ध किसान, उद्याेगी, उपभाेक्ता अधिकारकर्मीकाे आपत्ति जनाएका छन् ।

सराेकारवालाले किसानले घाटामै गए पनि सडकमा दुध नपाेखेकाे जनाएका छन् । सामाजिक संजालमा भाइरल भएकाे फाेटाेमा दुध पाेख्दै गरेका व्यक्ति हसिलाे मुहारमा छन् । जसप्रति किसानहरूले आपत्ति जनाएका छन् । किसान र दुग्ध उद्याेगीले दुध पाेखेर तमासा गरेकाे भन्दै यस्ताे  कदमप्रति आपत्ति जनाएका छन् । कृषक अभियन्ता उद्वव अधिकारीले उत्पादित दुधमा किसानको पसिना र लगानी लागेको हुनाले किसानले दुध पोख्दै नपाेख्ने दाबी गर्दै समाजिक सञ्जालमा देखिएकाे फाेटाे व्यवसायीक संकलनकर्ताको सक्ने बताएका छन् ।

  ”आजको अवस्थामा पनि नेपालका लाखौ साना किसानहरुले शतप्रतिशत घाटा खाएर आफ्नो घरमा भएको धेरथोर दुध बाँडेरै सकेका छन्, किसानलाई भुक्तानी दिनु नपर्ने दुध पोखेको हुनाले दुधपोख्ने पात्रको मुख पनी हसिलो देख्न सकिन्छ,” उनले भनेका छन्, ”जसले जसरी पोखे पनि यो गलत हो, यसरी नालीमा दूध नपोख्न, किसानका बारीमा फलेका तरकारी फलफूल हरु नकुहाउन, नियमित उत्पादन भएका कृषि उपजहरू विशेष व्यवस्थामार्फत २०० प्रतिशत सम्म महंगो तिरेर खान बाध्य उपभोक्ताहरू सम्म पुर्याउने जस्ता अनगिन्ती समस्याको समाधान गर्ने निकायहरूलाई त्यही नालीमा पोखेको दुधले नुहाएर बाँकी दोषजति अरु तिर थोपर्न खोज्नु पनि न्यायोचित हुंदैन होला।”

राष्ट्रिय कृषक समूह महासंघका पूर्व अध्यक्ष तथा सल्लाहकारसमेत रहेका अधिकारी आफैमा दुध किसान समेत हुन् । उनले यति लामाे कमेन्ट काराेबार दैनिकका पत्रकार किरण आचार्यले लेखेकाे फेसबुक स्टाटसमाथि लेखेका हुन् । अधिकारीकाे कमेन्टप्रति राष्ट्रिय उपभाेक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सहमत जनाएका छन्। आचार्यकाे स्टाटसमाथि कमेन्ट गर्दै यसअघि नै उनले भनेका छन्, ”याे गलत भयाे ।”

कृषि क्षेत्रमा लामाे समयदेखि कृषि क्षेत्रमा कलम चलाउदै आएका उनले लेखेका छन्, ”सडकमा दुध पोख्नु व्यवसायिक,व्यवहारिक र धार्मिक हिसाबले पनि राम्रो काम हैन। यस्ता कामलाई प्रोत्साहित नगरौं,नगराऔं।स्थानीय सरकारसँग समन्वय गरेर वितरण प्रणाली बिग्रदा कृषक-उद्यमी-उपभोक्ताले भोगेको समस्याको पहिचान र समाधानका उपाय खोजौं।” आचार्यले साे स्टाटसमा कृषि मन्त्रालयका अधिकारी, दुग्ध उद्याेगी, दुग्ध किसान, उपभाेक्ता अधिकारकर्मीसमेत सहमत जनाउदै दुध पाेख्ने क्रियाकलापप्रति अापत्ति भाव जनाएका छन् ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रसार अधिकृत अरूण जिसी, पत्रकार मनाेज श्रेष्ठ, निरज पिठाकाेटी र गाेविन्द खत्री,  केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायण देवकाेटा र महासचिव राम आचार्य, नेपाल डेरी एशाेसिएसनका अध्यक्ष राधाकृष्ण सापकाेटा र महासचिव प्रह्लाद दाहाल, डेरी उद्याेग संघका पूर्व अध्यक्ष प्रदिप महर्जन लगाएतले आचार्यकाे धारणासँग सहमति जनाएका छन् भने सहमति जनाउदै डेरी उद्याेग संघका निवर्तमान अध्यक्षले साे स्टाटास सेयर गरेका छन्।

अर्का कमेन्टर बाबुराम एनपीले दुध पाेखाउनेप्रति आपत्ति जनाउदै भनेका छन्, ”बास्तवमा यि व्यापारी भेष भएका एकखाले अातंककारी नै हुन् ।” सामाजिक संजालमा काेराेना भाइसरसँगै दुधकाे विषय पनि चर्चाकाे विषय बनिरहेकाे छ । दुग्ध क्षेत्र बढी संवेदनशील र कुल ग्राहस्थ उत्पादनमा ९ प्रतिशत याेगदान गर्ने भएकाले धेरै चासाेकाे विषय बन्ने गरेकाे छ ।

सहज आपूर्तिका लागि आव्हान

लकडाउनपश्चात सबैभन्दा पहिलाे  प्रभाव पर्ने क्षेत्र हाे दुग्ध क्षेत्र ।  लाखाैंकाे राेजगारी रहेकाे दुग्ध क्षेत्रमा रहेकाले पनि किसान, उद्याेगी र उपभाेक्ता समेत दुध आपूर्ति सहज नहुँदा मारमा पर्छन् । सरकारले अन्य कृषि तथा पशुपंक्षिजन्य उत्पादन जस्तै कृषिलाइ पनि अत्यावश्यव  वस्तुकाे सूचीमा राखेकाले सराेकार वाला सबैले दुग्ध आपूर्ति सहज बनाउन पटक पटक आव्हान गर्दै आएका छन् ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, केन्द्रीय दुग्ध सहकारी संघ, राष्ट्रिय कृषक समूह महासंघ नेपाल, नेपाल डेरी एशाेसिएसन, डेरी उद्याेग संघ, राष्ट्रिय कृषक संजाल लगाएत दर्जनाैं सराेकारवाला निकायले छुट्टा छुट्टै आव्हान गरेर दुध तथा अन्य कृषिजन्य उपजकाे सहज आपूर्तिका लागि आव्हान गरिसकेका छन् । खासगरि कृषक र कृषि उद्यमसँग सम्बन्धित संस्थाले घाटा नै व्यहाेरेर भए पनि दुध आपूर्ति नराेक्ने जनाएका छन् भने सरकारसँग ढुवानी लगाएतमा सहजिकरण गर्न माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !