१५ चैत्र २०८०, बिहिबार

नेपाल वायुसेवा निगमको ‘चार्टर्ड फ्लाइट’ बापतको कमिसन रोक्न पर्यटनमन्त्रीको निर्देशन

प्रकाशित मिति :  6 April, 2020 2:54 pm


फाईल फोटो

काठमाडौं, २४ चैत ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमको ‘चार्टर्ड फ्लाइट’ बापतको कसिमन एजेन्टलाई नदिन निगम नेतृत्वलाई निर्देशन दिएका छन् ।

अष्ट्रेलियन दूतावासले आफ्ना २ सय ७४ नागरिकलाई स्वदेश लैजानका लागि चैत १९ गते गरेको निगमको ‘चार्टर्ड फ्लाइट’मा एजेन्टका रुपमा घुसाइएको भनिएको बोन ट्राभल्सलाई कमिसनबापतको भुक्तानी हाललाई रोक्न मन्त्री भट्टराईले निगमलाई निर्देशन दिएका हुन् ।

पर्यटन मन्त्री भट्टराईले निगमका निमित्त महाप्रबन्धक गणेशबहादुर चन्द र कमर्सियल डिपार्टमेन्टका निर्देशक टङ्कनिधि दाहाललाई एजेन्टलाई कमिसनबापतको भुक्तानी हाललाई रोक्न निर्देशन दिँदै एजेन्ट घुसाइएका विषय स्पष्ट पार्न आग्रह गरेका छन् ।

यसअघि निगमको चार्टर्ड फ्लाइटमा ट्राभल एजेन्सी घुसाएर २७ लाख रुपैयाँ भन्दाबढी नोक्सानी गरेको समाचार प्रकाशन भएलगत्तै मन्त्री भट्टराईले तत्कालै निगमका नेतृत्वलाई बोलाएर यो विषय स्पष्ट पार्न निर्देशन दिएका थिए ।

निगमको वाणिज्य विभागले भने अष्ट्रेलियन दूतावासले नै चार्टर्ड सेवा सहजीकरणका लागि बोन ट्राभल्सलाई एजेन्ट नियुक्तिका लागि लेखेको पत्रका कारण बोन ट्राभल्सलाई ‘एजेन्ट’ तोकिएको जानकारी गराएको थियो ।

तर, मन्त्री भट्टराईले एजेन्ट घुसाएको विषयमा सबै तथ्य र प्रक्रिया स्पष्ट पार्न भनेका छन् । नियतबस एजेन्ट घुसाएर अनियमितता गरिएको भए यसमा संग्लनलाई कारवाहीको दायरामा ल्याउने चेतावनी मन्त्री भट्टराईले दिएका छन् ।

अष्ट्रेलियन दूतावासले दिएको काठमाडौँ–अष्ट्रेलिया–काठमाडौँ उडानबापतको ४ लाख ३९ हजार २०० डलर र प्रत्येक यात्रुको ट्याक्ससमेत गरी पाँच करोड ४८ लाख ४३ हजार रुपैयाँ निगमको खातामा जम्मा भइसकेको छ ।

बोन ट्राभल्सले ‘एजेन्ट’ भएर काम गरेबापत पाँच प्रतिशत अर्थात् २७ लाख ४५ हजार ७ सय ७० रुपैयाँ पाइसकेको समाचार प्रकाशित भएको  छ ।

तर निगमका निमित्त महाप्रबन्धक गणेशबहादुर चन्दले अष्ट्रेलियन दूतावासले तिरेको पैसा निगमको खातामा जम्मा भएको र बोन ट्राभल्सलाई कसिमनबापतको रकम दिइ नसकिएको दाबी गरेका छन् ।

उनले भने,‘त्यो निगमकै खातामा छ, बोन ट्राभललाई दिइएको छैन ।’

यही चैत १९ गते बुधबार निगमको जहाज काठमाडौँबाट अष्ट्रेलियन नागरिक बोकेर अष्ट्रेलियाको ब्रिसबेन उडेको थियो । नेपाल एअरलाइन्सले प्रतिघण्टा १८ हजार १ सय डलरका दरले शुल्क लिएको छ ।

निगमले २५ घण्टा काठमाडौँ–अष्ट्रेलिया–काठमाडौँ उडानको चार्टरबापतको रकम पाँच करोड ४९ लाख १५ हजार ४ सय रुपैयाँ तिरेको हो ।



प्रतिक्रिया दिनुहोस !