१२ बैशाख २०८१, बुधबार

उद्धार वा राहतको पहल गरिदिन काठमाडाैं उपत्यकामा रहेका रोल्पाली श्रमिकको आग्रह

प्रकाशित मिति :  8 April, 2020 8:25 am


काठमाडाैं, २६ चैत ।

काठमाण्डौं उपत्यकामा आएर विभिन्न ठाँउमा काम गरिरहेका रोल्पाका श्रमिकहरुले उद्धार या राहतको व्यवस्था गरिदिन आग्रह गरेका छन् ।

एक प्रेस विज्ञप्ति निकाल्दै लकडाउन लम्बिदै जाँदा आफूहरु अफ्ठेरोमा परेको भन्दै घर जाने व्यवस्था गरिदिन वा राहत र स्वास्थ्य सुरक्षाको सुनिश्चिताका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

उनीहरुले विज्ञप्तिमा भनेका छन्,‘कि त सरकारले तोकेको मापदण्ड उल्लंघन नहुने गरि घरसम्म पुग्ने व्यवस्था मिलाउन अथवा हामी भएकै ठाँउमा राहत र स्वास्थ्य सुविधा समेत उपलब्ध हुने व्यवस्था सरकारसँग माग गरिदिनुहुन हामी हार्दिक अनुरोध गर्दछौं । ’

रोल्पाका जनप्रतिनीधि तथा नेताहरुलाई सम्बोधन गरिएको विज्ञप्तिमा भनिएको छ,‘हामी रोल्पा जिल्लाबाट मजदुरीका लागि काठमाण्डौं छिरेका व्यक्तिहरुलाई दैनिक गुजारा गर्न समस्या भईरहेको छ ।

यस अवस्थामा सरकारले कसैलाई कुनै पनि हालतमा असुविधा हुन नदिने भनिरहेको छ तर हामीलाई अहिलेसम्म राहतको कुनै बन्दोबस्त पनि छैन ।’

सरकार र रोल्पाका जनप्रतिनीधिहरुले जस्तो सुकै अवस्थामा पनि जिल्ला पुराउने वा काठमाण्डौंमै भएपनि मजदुरहरुका लागि व्यवस्था गरिदिने भनेको विभिन्न मिडियामा आइरहेको भन्दै विज्ञप्तिमा भनिएको छ,‘हाम्रो जिल्लाका केही मानिसहरुलाई घर पठाएतापनि हामी हजारौंलाई कसैले पठाउन सकेको छैन ।’

हुमादेवी भण्डारीले आफ्नो सम्पर्कमा रहेका झण्डै ५ सय रोल्पाली श्रमिक समस्यामा रहेको बताईन् ।

अन्य ठाँउमा पनि थुप्रै रोल्पाका श्रमिक फसेको उनको भनाई छ ।

काठमाण्डौं उपत्यकासहित धादिङ र आसपासका जिल्लामा थुप्रै रोल्पाका श्रमिकहरु रहेको आँकलन छ ।

रोल्पाबाट प्रतिनीधिसभाका सांसद तथा उर्जामन्त्री बर्षमान पुनले समस्या परे सम्पर्क गर्न भन्दै सचिवालयका सदस्यहरुको नम्बर समेत उपलब्ध गराएका थिए ।

नेपाली कांग्रेस रोल्पाले यसअघि विज्ञप्ति निकाल्दै झण्डै १० हजार रोल्पाका श्रमिक काठमाण्डौं उपत्यका र आसपासमा फसेको भन्दै उद्धार तथा राहतका लागि आग्रह गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !