८ बैशाख २०८१, शनिबार

‘सीमसीमे’ गायिका रेखाको ‘जिन्दगीको अर्थ’ (भिडियाे)

प्रकाशित मिति :  20 April, 2020 6:44 pm


काठमाडाैं, ८ वैशाख । 

‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा’ बोलको गीतबाट अजर/अमर गायिकाको छबी बनाएकी गायिका रेखा शाहले फरक शैलीको गीत ‘जिन्दगीको अर्थ खोज्न कहाँ जाऊँ साथी’ सार्वजनिक गरेकी छिन् |

सन् २०१० मा सार्वजनिक भएको उनको एल्वम ‘स्मृति’मा समावेश गीतमा भूपेन्द्र खड्काको शब्द तथा राजु सिंहको संगीत रहेको छ | फणिन्द्र राईको संगीत संयोजन रहेको यो गीतको लिरिकल भिडियो दिपेन बस्न्यातले तयार पारेका हुन् |

२०४९ सालमा शाह रेडियो नेपालमा स्वर परीक्षा पास गर्नका लागि पुगेकी थिइन् तर आधुनिक गीतको स्वर परीक्षा पास गर्ने फारम भर्ने मिति सकिएकाले उनले सिमसिमे पानीमा ‘लोकगीत प्रतियोगिता’मा गाइन् र प्रथम पनि भइन् | उनको लोक गायिकाको परिचय बन्यो तर उनको परिचय भने त्यत्तिले पुग्दैन | उनी शास्त्रीय संगीतकी विधार्थी हुन् | संगीतबाहेक समाजसेवामा समेत सक्रिय उनका आधुनिक तथा पप शैलीका ३ वटा एल्बमहरू प्रकाशित छन् भने दर्जनौं गीतहरू हिट छन् |

‘तिमीलाई केही हुँदै नहोस्’, ‘एक दिन तिमी फर्की आउनेछौ’,’नजिक छौ तिमी’, ‘तिमी बिना म एक्लो’, ‘पोखूँ भने’, ‘बाटैमा रैछ घर तिम्रो’ जस्ता गीतहरू चर्चित छन् | ‘त्यति बेला अहिलेजस्तो युट्युबमा गीत हेर्ने र सुन्ने बानी हामीमा थिएन | प्रविधिको यति धेरै विकास भैसकेको पनि थिएन | समयक्रमसंगै मैले पनि आफ्ना राम्रा गीतलाई मेरो आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गर्ने सोच बनाएकी छु,’  गीतबारे शाह भन्छिन्, क्रमश मेरा गीतहरू यसरी नै मेरो युट्युब च्यानलमा अपलोड गर्दै जानेछु |’

कोरोनाको संक्रमणपछि सबैजस्तै उनी पनि लकडाउनमा घरभित्र नै छिन् | पुस्तक पढ्ने, सिनेमा हेर्ने र गीत सुन्ने गरिरहेकी उनले लकडाउनपछि आफ्नो नयाँ गीत ‘काठैको पुतली झ्याल-झ्यालमा’ सार्वजनिक गर्ने पनि बताइन् | उनले यो गीतबाट राम्रो प्रतिक्रियाको अपेक्षासमेत गरेको बताइन् |

भिडियाे



प्रतिक्रिया दिनुहोस !