९ कार्तिक २०८३, आइतबार

कपडा तथा सुनचाँदी व्यवसायीको गुनासो : ‘दशैँमा सोचेजस्तो व्यापार भएन’

प्रकाशित मिति :  25 October, 2026 7:28 pm


काठमाडौं । यस वर्षको दशैँमा फेन्सी, कपडा तथा सुनचाँदीको व्यापार सोचेजस्तो हुन नसकेको व्यवसायीहरूले गुनासो गरेका छन् ।

काठमाडौंको न्युरोड तथा ललितपुरको पाटन क्षेत्रका व्यवसायीहरूले यस वर्षको दशैँमा कपडा तथा सुनचाँदीको कारोबार अपेक्षाअनुसार हुन नसकेको बताएका हुन् । विगतका वर्षमा दशैँभर न्युरोड तथा पाटन क्षेत्रमा किनमेल गर्नेको बाक्लो भीड लाग्ने र व्यवसायीले पनि मनग्य आम्दानी गर्ने गरेकामा यस वर्ष व्यापार खस्किएको उनीहरूको भनाइ छ ।

रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट सिर्जित समस्या र सामानको मूल्यवृद्धिका कारण व्यापार प्रभावित भएको व्यवसायीहरूको अनुभव छ । कतिपय व्यवसायीले दशैँका लागि लाखौँ रुपैयाँको सामान तयारी अवस्थामा राखे पनि अपेक्षित बिक्री हुन नसकेको गुनासो गरेका छन् ।

कपडा व्यवसायी प्रमिला श्रेष्ठले यस वर्ष दशैँका लागि चारदेखि पाँच लाख रुपैयाँ बराबरको सामान बिक्रीका लागि राखे पनि सोचेजस्तो व्यापार नभएको बताइन् । रसुवामा आएको बाढीका कारण आमनागरिकको दशैँ नै प्रभावित भएकाले अपेक्षित व्यापार हुन नसकेको उनको बुझाइ छ । विगतका वर्षको तुलनामा यस वर्ष झन्डै आधा मात्रै व्यापार भएको उनले बताइन् ।

उनले भनिन्, ‘यो पालिको दशैँमा खासै राम्रो व्यापार भएन । ४–५ लाखको सामान निकालेकी थिएँ । तर सोचेजस्तो भएन । अहिले नागरिक सबै पीडामा भएर पनि यस पटक सोचेजस्तो व्यापार हुन सकेन ।’

कपडा व्यवसायी प्रचण्डराज जोशीले यस वर्षको दशैँमा अघिल्ला वर्षको तुलनामा व्यापार व्यवसाय निकै खस्किएको बताए । सधैँ लाखौँ रुपैयाँ नाफा हुने गरी व्यापार गर्ने गरे पनि यसपटक लगानीसमेत उठ्न नसकेको उनको गुनासो छ ।

उनले भने, ‘अहिले व्यापार व्यवसाय पहिलेको भन्दा धेरै नै खस्किएको छ । विशेषगरी रसुवामा बाढी आएपछि व्यापार नराम्रोसँग प्रभावित भयो । यो पटक दशैँ घाटामै गयो ।’

अर्का कपडा व्यवसायी राम नेपालीले पनि यस वर्षको दशैँमा अघिल्लो वर्षको तुलनामा करिब आधा कम व्यापार भएको बताए । नागरिकमा उल्लासको कमी तथा विपद्जन्य घटनाका कारण दशैँमा व्यापार खस्किएको उनको अनुभव छ ।

उनले भने, ‘सधैँको दशैँमा एकदमै राम्रो व्यापार हुन्थ्यो । अहिले त एकदम कम भयो । पछिल्लो समय विभिन्न नदीमा आएको बाढी र सामान पनि महँगिएको कारणले सोचेजस्तो व्यापार हुन सकेन । पोहोर सालभन्दा झन्डै आधा कम व्यापार भयो यो पटक ।’

सुनचाँदी व्यवसायी जेनी शाक्यले पनि दशैँमा सुनचाँदीका गरगहनाको कारोबार अपेक्षाअनुसार हुन नसकेको गुनासो गरिन् । बाढीबाट प्रभावित नागरिकले दशैँसमेत मनाउन नपाएको कारण सुनचाँदीलगायत अन्य क्षेत्रमा पनि अपेक्षाकृत व्यापार हुन नसकेको उनको अनुभव छ ।

उनले भनिन्, ‘यो पटकको दशैँमा सुनचाँदीका गरगहनाको सोचेजस्तो व्यापार भएन । धेरै मानिस पीडामा परेको तथा धेरै जनाले दशैँ नै नमनाएको कारणले पनि हुन सक्छ, व्यापार खस्किएको हो । अन्य व्यवसायको तुलनामा सुनको व्यापार अलि थोरै नै हुने भए पनि यस पटक कुनै कुराको पनि व्यापार सोचेजस्तो भएको छैन ।’

व्यवसायीहरूले दशैँलाई लक्षित गरेर सामानको मौज्दात तथा तयारी गरे पनि बजारमा माग अपेक्षाअनुसार नबढ्दा व्यापारमा कमी आएको बताएका छन् ।

– न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !