नेपाल प्रिमियर लिग : नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसम्म आइपुग्दा नेपाली क्रिकेटको व्यावसायिक विकास, खेल पूर्वाधारमा लगानी र आर्थिक गतिविधिको विस्तारमा प्रतियोगिताले महत्त्वपूर्ण योगदान पुर्याएको समर्थकहरूले बताएका छन् ।
एनपीएलका पहिलो र दोस्रो संस्करणले पाएको सफलताले नेपाली क्रिकेटको विकासमा नयाँ सम्भावना खोलेको उनीहरूको भनाइ छ । लिगमा चर्चित विदेशी खेलाडीको सहभागिता र नयाँ प्रविधिको प्रयोगले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनुका साथै खेलको निष्पक्षता र प्रतिस्पर्धात्मक स्तर बढाउन सहयोग पुगेको समर्थकहरूको अनुभव छ ।
क्रिकेट समर्थक जगदीश जैशीले एनपीएलले नयाँ पुस्तालाई क्रिकेटप्रति आकर्षित गर्नुका साथै मुलुकको समग्र खेल क्षेत्रको विकासमा सहयोग गरिरहेको बताए । प्रतियोगिताले नयाँ पुस्तालाई क्रिकेटलाई पेसाका रूपमा अगाडि बढाउन प्रोत्साहन गरेको उनको भनाइ छ । उनले एनपीएल र नेपाली क्रिकेटको विकासमा विभिन्न व्यक्तिको मेहनत र योगदान रहेको पनि बताए ।
उनले भने, ‘नेपालको क्रिकेट क्षेत्रले छोटो समयमा नै ठूलो फड्को मार्न सफल भएको छ । अहिले नेपाल प्रिमियर लिगको तेस्रो सिजनसम्म आइपुग्दा नयाँ–नयाँ प्रविधिहरू पनि भित्रिएका छन् । विदेशी स्टार खेलाडी पनि आउनुभएको छ । यो सानो प्रयासले मात्र सफल भएको होइन । यसको पछाडि धेरै व्यक्तित्वहरूले दुःख र मेहनत गर्नुभएको छ । यसले नयाँ पुस्तालाई खेलप्रति आकर्षित गर्नुका साथै मुलुकको आर्थिक क्षेत्रमा खेल क्षेत्रको योगदानसमेत वृद्धि गरिरहेको छ ।’
क्रिकेट समर्थक रियान तामाङले अन्तर्राष्ट्रिय समुदायको ध्यान नेपाली क्रिकेटतर्फ आकर्षित गर्नु नै एनपीएलको सफलता भएको बताए । विदेशी खेलाडीले नेपालमा खेलेको अनुभव सकारात्मक रूपमा अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गरे नेपाली क्रिकेटको विकास र अवसर विस्तारमा थप सहयोग पुग्ने उनको विश्वास छ । उनले एनपीएललाई क्रिकेट प्रतियोगिताका रूपमा मात्र नभई नेपालको पर्यटन क्षेत्रसँग पनि जोडेर अघि बढाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘एनपीएलले अन्तर्राष्ट्रिय समुदायको समेत ध्यान आकर्षित गरेको छ । अहिले नयाँ–नयाँ प्रविधि र चर्चित विदेशी खेलाडीहरूको आगमनले पनि नेपाली क्रिकेटले चर्चा पाएको छ । विदेशी खेलाडीले सकारात्मक सन्देश लिएर जानुभयो भने आगामी दिनमा नेपाली क्रिकेटको विकास र अवसरमा समेत वृद्धि हुनेछ ।’
अर्का क्रिकेट समर्थक नारायण आचार्यले एनपीएलपछि खेल पूर्वाधारमा भइरहेको विकास, निजी क्षेत्रको लगानी र ग्रासरुटबाट आएका प्रतिभाले पाएका अवसरलाई नेपाली क्रिकेटको विकाससँग जोडेर हेर्नुपर्ने बताए । विदेशी स्टार खेलाडीको सहभागिताले नेपाली खेलाडीको खेल कौशल र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा सहयोग पुगिरहेको उनको भनाइ छ ।
क्रिकेटमा निजी क्षेत्रको सहभागिता बढ्दा खेल गतिविधिसँगै मुलुकको आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा समेत सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
उनले भने, ‘नेपाली क्रिकेटको विकासको जग हाल्ने काम नै एनपीएलले गरेको छ । एनपीएल सुरु भइसकेपछि खेल पूर्वाधारमा भइरहेको विकास र लगानी तथा ग्रासरुटबाट आएका प्रतिभाहरूले पाएको अवसरले पनि क्रिकेट क्षेत्रको विकास झल्किन्छ । विदेशका स्टार खेलाडी आएर हाम्रो लिगमा खेल्ने कुराले नै हाम्रो खेलको स्तर बढेको हो भन्ने बुझ्नुपर्छ । यसले हाम्रा खेलाडीको खेल कौशलमा समेत गुणस्तर बढेको छ । पछिल्लो समय क्रिकेट क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढेको कारण देशको आर्थिक क्षेत्र नै चलायमान हुन पाएको छ जस्तो मलाई लाग्छ ।’
एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सोमबार डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।
– न्युज एजेन्सी नेपाल








