१२ कार्तिक २०८३, बुधबार

चीनको गुइझोउमा केरा खेतीमा ड्रोन प्रविधि, उत्पादकत्व र ढुवानी क्षमता बढ्यो

प्रकाशित मिति :  28 October, 2026 12:15 pm


काठमाडौं । दक्षिण–पश्चिम चीनको गुइझोउ प्रान्तमा केरा खेती गर्ने किसानका लागि ड्रोन प्रविधि उपयोगी बन्दै गएको छ । दुर्गम पहाडी क्षेत्रमा अवस्थित केरा उत्पादन केन्द्रमा परम्परागत रूपमा हातैले केरा ओसारपसार गर्दा हुने ढिलाइ र कठिनाइ कम गर्न ड्रोनको प्रयोग बढाइएको छ ।

चीनको सेहेङ काउन्टीस्थित यान्जिया टाउनमा भइरहेको ड्रोनको प्रयोगले कृषि क्षेत्रमा आधुनिक प्रविधिको उपयोग विस्तार गर्न नयाँ सम्भावना खोलेको छ । एकपटकमा १०० किलोग्रामसम्म केरा बोक्न सक्ने ड्रोनले उत्पादनलाई छोटो समयमै बजार वा सङ्कलन केन्द्रसम्म पुर्‍याउन मद्दत गरिरहेको छ ।

प्राप्त तथ्याङ्कअनुसार एउटा ड्रोनले एकतर्फी यात्रा पूरा गर्न दुईदेखि तीन मिनेट मात्रै लगाउँछ । यसअघि परम्परागत विधिबाट एक व्यक्तिले दिनभरिमा मुस्किलले ५०० किलोग्राम केरा ओसार्न सक्थ्यो । तर, ड्रोनको प्रयोगबाट सोही अवधिमा पाँचदेखि आठ टनसम्म केरा ढुवानी गर्न सम्भव भएको छ ।

यस प्रविधिले किसानको श्रम लागत घटाउनुका साथै उत्पादित केराको गुणस्तर कायम राख्न पनि सहयोग गरेको छ । पहाडी क्षेत्रका कठिन बाटामा भारी बोकेर हिँड्नुपर्ने बाध्यता कम भएपछि स्थानीयस्तरमा कृषि उपजको बिक्री तथा वितरणसमेत तीव्र बनेको छ ।

सरकारी निकाय र स्थानीय कृषि सहकारीले यो प्रविधिलाई थप प्रभावकारी बनाउन आधुनिक सञ्जाल विस्तार गरिरहेका छन् ।

– सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !