२० बैशाख २०८१, बिहिबार

बिहान ११ बजे संसद बैठक, प्रधानमन्त्रीले विश्वासको मत लिँदै

प्रकाशित मिति :  13 March, 2024 7:45 am


काठमाडौँ। आज प्रतिनिधि सभाको बैठक बस्दैछ। बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने भएका छन्।

संविधानको धारा १०० को उपधारा (२) अनुसार प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान छ।

संवैधानिक प्रावधान अनुसार प्रधानमन्त्रीले बुधवार विश्वासको मत लिन लागेका हुन्। गत फागुन २१ गते नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नयाँ गठबन्धन जोडेपछि पुनः विश्वासको मत लिन लागिएको हो।

नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीसहितका दलको नयाँ समीकरण गरेका कारण आज पुनः विश्वासको मत लिन लागिएको हो।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो । २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ मा विश्वासका मत लिएका थिए भने २०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरबदल भएपछि सोही सालको चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका थिए।

विश्वासको मत प्राप्त गर्न १३८ मत आवश्यक हुन्छ भने हालको पाँच दलीय सत्ता गठबन्धनसँग १५२ सांसद छन्।

प्रतिनिधि सभामा एमालेको ७७, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २१, जनता समाजवादी पार्टीको १२, एकीकृत समाजवादीका १० सांसद छन्।



प्रतिक्रिया दिनुहोस !