१६ बैशाख २०८१, आइतबार

दाङका संगीतकार श्रेष्ठले पाए दोस्रो पटक ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ प्रमाणपत्र

प्रकाशित मिति :  19 March, 2024 7:34 am


काठमाडौँ। दाङ स्थायी घर भएका संगीतकार सन्तोष श्रेष्ठले दोस्रो पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र हात पारेका छन् ।

विश्वको सबैभन्दा अग्लो स्थानमा प्रत्यक्ष रुपमा वाद्यवादन सहितको गायन तथा म्युजिक भिडियो छायांकन गरिएको गीत ‘तिलिचो ताल’बाट श्रेष्ठले दोस्रो पटठक गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र पाएका हुन् ।

यसअघि पहिलो पटक ५० देशका ५० भाषामा संगीतबद्ध गरिएको ‘ढुकढुकी भित्र तिम्रो’ गीतबाट प्रमाणपत्र पाइसकेका छन्। दुवै गीतका रचनाकार डा. डी.आर. उपाध्याय हुन्।

‘तिलिचो ताल’ बोलको गीत श्रेष्ठको संगीत र सागर अधिकारीको स्वरमा छ । सो टिमलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा गत शुक्रबार आयोजित कार्यक्रममा गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण का हुन् ।

‘गीत मनाङ जिल्लास्थित तिलिचो तालभन्दा केही माथि (५ हजार १०५ मिटर उचाइ) मा प्रत्यक्ष रुपमा वाद्यवादन सहितको गायन, रेकर्डिङ र छायांकन गरिएको थियो ।

यो विधामा २०७६ असोज १० गते ४ हजार ७६८ मिटर उचाइमा माधव खरेल लगायतको समूहले पहिलोपटक कीर्तिमान राखेको थियो । यसको दुई वर्ष अगाडि सन्चबहादुर राई लगायतको समूहले ४ हजार ८१३ मिटर उचाइमा रेकर्ड र छायांकन गरेर खरेल समूहको कीर्तिमान भंग गरेको थियो ।

गत २०७९ वैशाख ९ गते ५ हजार १०५ मिटर (१६ हजार ७४८ फिट २ इन्च) उचाइमा ‘तिलिचो ताल’ बोलको गीतलाई रेकर्डिङ र छायांकन गरेर नयाँ विश्व रेकर्ड कायम गरिएको हो।

महेन्द्र चन्द ‘माइकल’को निर्देशन रहेको गीतको दृश्यमा पुष्प खड्का र श्रद्धा क्षेत्रीको अभिनय छ । गीतको छायांकन उत्सव दाहालले र सम्पादन सिलन लम्सालले गरेका छन् ।

श्रेष्ठ संगीत र बाद्यवाधनमा लोकप्रिय छन्।



प्रतिक्रिया दिनुहोस !