५ जेष्ठ २०८१, शनिबार

भारतले लिपुलेक मिच्नेगरि सडक सञ्चालन गरेपछि विप्लव नेकपाको विरोध,राष्ट्रिय स्वाधिनताको संघर्ष गर्ने चेतावनी

प्रकाशित मिति :  9 May, 2020 5:21 pm


काठमाण्डौं, २७ वैशाख ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाली भूमि लिपुलेक हुँदै चीनको सिमाना जोड्ने गरी भारतले सडक सञ्चालनमा ल्याएको आपत्ति जनाएको छ ।

नेकपाका अन्तराष्ट्रिय ब्यूरो इन्चार्ज धर्मेन्द्र बाँस्तोलाले आज विज्ञप्ति जारी गर्दै नेपाली भूमि हडप्ने भारतको हर्कतको विरोध गरेका छन् ।

सन् १९६२ देखि नै भारतले नेपालका लिम्पियाधुरा, कालापानीमापनि क्षेत्रमा सैनिक अखडा बनाउने प्रकृयाको निरन्तरताको एक उत्कर्षको रुपमा यो आएको विज्ञप्तिमा उल्लेख छ ।

बाँस्तोलाको विज्ञप्तिमा भनिएको छ,‘ त्यस क्षेत्रबाट भारतीय हर्कत पूर्ण रुपले बन्द गरी नेपालको सार्वभौमिकताको सम्मान गर्न भारतीय सरकारसँग माग गर्दर्छौं । साथै त्यहाँबाट नहटेमा राष्ट्रिय स्वाधीनताको संघर्ष गर्ने चेतावनी दिन चाहन्छौं । ’

नेपाली भूभागमा भारतले बेरोकटोक बाटो बनाउँदापनि चुपचाप बस्ने सरकारको तरिका भारतीय साम्राज्यवादप्रतिको दलाली र लाचारी खुल्ला रुपमा प्रकट भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ,‘भारतले बाटो बनाउन खोज्दा,नेपालको भूभाग भारतीय नक्सामा सामेल गर्दा र नेपालका सीमाहरु ठाँउठाँउमा मिचिँदा पनि संसद्वादी सत्ता मूकदर्शक देखिएकाले नेपाललाई दिनप्रतिदिन पराधीन बनाउन लागेको छ ।’

बाँस्तोलको विज्ञप्तिमा वर्तमान सत्ताको अन्त्यका लागि संघर्षमा उठ्न नेपाली जनता, सबै राजनीतिक पार्टीहरु लगायत नेपाली सेना र नेपाल प्रहरीमा हार्दिक अपिल गर्दछौं भनिएको छ ।

भारतले नेपालको भूभाग हडप्ने प्रक्रियामा परोक्ष-अपरोक्ष सहभागि नहुन जनवादी गणतन्त्र चीन सरकारलाई विप्लव नेतृत्व नेकपाले अपिल समेत गरेको छ ।

विज्ञप्तिमा भनिएको छ,‘ नेपालको सार्वभौमिकतामाथि भारतीय साम्राज्यवादले हमला गरेको मामिला संयुक्त राष्ट्र संघ लगायत अन्तराष्ट्रिय निकायहरुलाई ध्यान पुराउन पनि हाम्रो पार्टी आग्रह गर्दछ ।’



प्रतिक्रिया दिनुहोस !