१८ बैशाख २०८१, मंगलबार

विश्व बैंक र मुद्रा कोष बैठकमा सहभागी हुन अर्थमन्त्री पुन अमेरिका प्रस्थान

प्रकाशित मिति :  15 April, 2024 7:53 am


काठमाडौँ। अर्थमन्त्री वर्षमान पुन चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तीन दिनका लागि अमेरिका प्रस्थान गरेका छन् ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन सोमबार बिहान सवा २ बजे कतार एयरवेजको जहाजबाट वासिङ्टन डिसीका लागि प्रस्थान गरेका हुन्।

भ्रमण दलमा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही महाशाखाअन्तर्गत विश्व बैंक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र मन्त्री पुनका निजी सचिवसमेत रहेका अर्का उपसचिव भूपालराज शाक्य रहेका छन्।

मन्त्री पुनले जलवायु परिवर्तको प्रभावले खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

हाइलेभल क्लाइमेट नेक्सससम्बन्धी साइडलाइन बैठक तथा दक्षिण एसियामा स्वच्छ ऊर्जा सङ्क्रमणसम्बन्धी सत्रका साथै विभिन्न द्विपक्षीय र बहुपक्षीय बैठकहरूमा सहभागी हुनेछन् ।

मन्त्री पुनले आगामी १६ र १७ वैशाखमा काठमाडौँमा हुने तेस्रो लगानी सम्मेलन तथा नेपालमा लगानी अनुकूल वातावरण निर्माणमा सरकारका तर्फबाट भएका सुधार प्रयासबारे विश्व बैंकसहित विकास साझेदार र निजी क्षेत्रलाई अवगत गराउने भएका छन्।



प्रतिक्रिया दिनुहोस !