१४ बैशाख २०८१, शुक्रबार

सीमाका विषयमा सिधै एउटा टुङ्गोमा पुग्नुपर्ने समय आयो:प्रचण्ड

प्रकाशित मिति :  10 May, 2020 4:48 pm


काठमाण्डौं, २८ वैशाख । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिपुलेक, कालापानी तथा लिम्पियाधुरालगायत सीमाका विषय पेचिलो बनेको भन्दै नेपालका लागि सिधै एउटा टुङ्गोमा पुग्नुपर्ने समय आएको बताएका छन् ।

कूटनीतिकरूपमा विभिन्न चरणमा समाधानको प्रयास गरिए पनि निकास ननिस्किएको अवस्थामा समस्याहरु थप जटिल बन्दै गएको अध्यक्ष प्रचण्डको निष्कर्ष छ ।

सिंहदरबारमा आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिका सदस्यसमेत रहेका अध्यक्ष दाहालले सीमा विवाद तत्काल उब्जिएको नभइ दशकौँदेखिको समस्या भएको उल्लेख गरे । उनले सबै तथ्यहरुको विष्लेषण गरी एउटा ठोस निचोडमा जानुपर्ने आवश्यकता औँल्याए ।

अध्यक्ष प्रचण्डले भने,‘सीमा समस्याका विषयमा एकचोटी फेरि राजनीति र कूटनीतिमार्फत समाधानको कोसिस गर्ने र भएन भने सिधै एउटा टुङ्गोमा पुग्नुपर्ने समय आउँदै गरेको महसुस गरेको छु ।’

गत साल भारतले जारी गरेको राजनीतिक नक्साको नयाँ सन्दर्भ आएपछि विषयको गाम्भीर्यता र संवेदनशीलतालाई विचार गरेर पटक–पटक राष्ट्रियस्तरमा गम्भीर बहस गरिएको उनको भनाई थियो ।

प्रचण्डले भने,‘ शनिबार मात्रै भारतले बनाएको बाटो उद्घाटनको विषय आइसकेपछि प्रधानमन्त्रीलाई भेटेर विषय धेरै गम्भीर भएर आयो । विगतमा नक्साको सन्दर्भमा पनि एक ढङ्गको विवाद भयो । हामीले उच्चस्तरमा (प्रधानमन्त्रीकै स्तरबाट) राजनीतिक र कूटनीतिक संवाद थालिहाल्नुपर्छ ।’

लिपुलेकलगायत सीमा समस्यासम्बन्धी विषयमा आफू पूर्वप्रधानमन्त्रीको हैसियतमा विगतमा भारत र चीनसँग छलफल गरेको समेत उनको भनाई थियो ।

प्रचण्डले भने,‘लिपुलेकको सन्दर्भमा चीन र भारतको जे सहमति भयो, संयोगले तुरुन्तै भारत भ्रमणमा जाँदा त्यहाँको उच्च नेतृत्वसँग र चीन जाँदा चीनको नेतृत्वसँग विषय उठाइएको हो, सिमानाको विषयमा चीन, भारत र नेपाललले त्रिपक्षीयरूपमा समस्या समाधान गर्नुपर्ने आवश्यकता टड्कारो भयो भनेर उठाएको थिएँ ।’

भारत–चीनबीच सम्झौता भएको हुनाले लिपुलेक प्रकरण त्रिदेशीय समस्या बन्न गएको यथार्थ हो भन्दै अध्यक्ष दाहालले दुई देशले मात्रै हल गर्न अप्ठ्यारो हुने तर्क गरे ।



प्रतिक्रिया दिनुहोस !