७ जेष्ठ २०८१, सोमबार

अवैध बाटोबाट अमेरिका पठाइदिने भन्दै ५ करोड ५० लाख ठगी गर्ने गिरोह पक्राउ

प्रकाशित मिति :  10 May, 2024 1:39 pm


काठमाडौँ । नेपाल प्रहरीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाइ ५ करोड ५० लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

शुक्रवार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी उक्त गिरोहलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा वर्ष ४७ का सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका वडा नम्बर २ का टासी शेर्पा, जिल्ला सिन्धुपाल्चोककै वर्ष ४२ का साविक कर्थली गा.वि.स. वडा नम्बर १ का ङिमबुटी शेर्पा र जिल्ला सिन्धुपाल्चोककै जुगल गाउँपालिका वडा नम्बर १ की वर्ष १९ वर्षीया निमा शेर्पा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

उनकाअनुसार सम्पर्कमा आएका १० जनाबाट उक्त गिरोहले ५ करोड ५० लाख रुपैयाँ रकम ठगी गरेको पाइएको छ । यो गिरोहले करिव १५ जना नेपालीहरूलाई अमेरिका पठाउन केन्या लगायतका विभिन्न देशहरूमा अहिले पनि बन्धक बनाई राखिरहेको र निजहरूबाट करिव ७ करोड ५० लाख रकम लिएको खुल्न आएको बताए ।

प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले फरक घटनामा श्रोत नखुलेको ९८ लाख रकमसहित दुई जनालाई पक्राउ गरेको बताए। उनले काठमाडौँ महानगरपालिका वडा नम्बर ५ मालिगाउँ क्षेत्रमा मिलन बिक समेतका केही व्यक्तिहरूलाई पनि हुण्डी कारोबार गरिरहेको सूचनाका आधारमा पक्राउ गरिएको बताए ।

उनीहरूकाे साथबाट ९८ लाख श्रोत नखुलेको रकमसहित बा.१३ च. ४८५८ नम्बरको सवारी साधन बरामद भएको बताए ।



प्रतिक्रिया दिनुहोस !