जनमतका सतिशकुमार मधेस प्रदेशका मुख्यमन्त्री बन्दै, आज १२ बजे सपथग्रहण
काठमाडौँ। मन्त्रालय बाँडफाँडमा सहमति जुटेसँगै मधेस प्रदेशको मुख्यमन्त्री पदमा जनमत पार्टीबाट सांसद सतिशकुमार सिंहले दाबी पेश गरेका छन्।
शुक्रवार बिहान गठबन्धनका दलहरुबीच सहमति जुटेसँगै उनले दाबी पेश गरेका हुन् । उनले ५५ जना सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका छन्।
प्रदेश सभामा १०७ सदस्य छन् । जसमा नेकपा एमालेका २४, जनमतका १३, नेकपा (माओवादी केन्द्र) का ९ र नेकपा (एकीकृत समाजवादी) का ७ सांसद छन् । संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्तिका एक÷एक सांसदहरुले पनि सत्ता गठबन्धनलाई साथ दिएका छन् ।
दलहरुबीच सहमतिअनुसार एमालेले भौतिक पूर्वाधार विकास मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र खेलकुद तथा समाज कल्याण मन्त्रालय पाएको छ ।
नेकपा (माओवादी केन्द्र) लाई अर्थ र पर्यटन मन्त्रालय, नेकपा (एकीकृत समाजवादी) लाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उर्जा तथा सिंचाई मन्त्रालय दिने सहमति भएको छ ।
जनमत पार्टीलाई वन तथा वातावरण मन्त्रालय दिने सहमति भएको छ । १–१ सिटको नेपाल संघीय समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानून र नगरिक उनमुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको छ ।
मुख्यमन्त्री सिंहले आज सवा १२ बजे शपथग्रहण गर्नेछन्।
—न्युज एजेन्सी नेपाल








