२२ बैशाख २०८१, शनिबार

स्थानीय तहदेखि राष्ट्रिय स्तरका अस्पतालको संरचना, सेवा र गुणस्तर बढाईने

प्रकाशित मिति :  15 May, 2020 5:54 pm


अम्बिका शर्मा

काठमाडाैं, २ जेठ ।

सरकारले स्थानीय तहदेखि राष्ट्रिय स्तरका अस्पतालको संरचना, सेवा र गुणस्तर बढाउने नीति लिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७७र ७८ को नीति तथा कार्यक्रममा अब स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिने भन्दै स्वास्थ्य सेवा स्तरीकरण गर्ने उल्लेख छ ।

अघिल्लो वर्ष स्थानीय तहका २ हजार ६ सय २६ स्वास्थ्य सेवा दिने पूर्वाधार बनाइएको उल्लेख गर्दै राष्ट्रपतिले आगामी वर्ष स्थानीय तहमा दिइने सेवाको गुणस्तर बढाइने उल्लेख गरिन् ।
जिल्ला अस्पताललाई ५ देखि १५ शैय्याको अस्पताल बनाउने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

अञ्चल अस्पताललाई २५ देखि ५० शैय्याको बनाउने भनिएको छ। सातै प्रदेशमा सरूवा रोग अस्पताल बनाइने भएको छ। केन्द्रीय अस्पतालहरूमा ३ सय देखि ५ सय शैय्या बनाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।
सरकारले तीन वर्षभित्र सबै नागरिकको स्वास्थ्य बिमा गर्ने लक्ष्य लिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ३ वर्षभित्र सबै नागरिकको स्वास्थ्य बिमा गर्ने लक्ष्य लिएको पनि जानकारी गराईन् ।
उनका अनुसार हालसम्म ५५१ स्थानीय तहका २७ लाख बढी नागरिकको स्वास्थ्य बिमा गरिएको छ ।

आधारभूतबाहेकका स्वास्थ्य सेवाहरू क्रमशः थप गरिँदै लगिने समेत सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !