१६ चैत्र २०८०, शुक्रबार

कोरोनाका कारण बाँकेमा पनि एक जनाको मृत्यु, मृतकको संख्या २ पुग्यो

प्रकाशित मिति :  17 May, 2020 4:37 pm


काठमाण्डौं, ४ जेठ ।

कोरोनाका कारण बाँकेमा पनि एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेमा कोरोनाका कारण एक जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले बाँकेको नरैनापुर—५ बाँकेका २५ वर्षीय पुरुषको  कोरोनाका कारण मृत्यु भएको पुष्टि गरे  । उनी ३० मा भारतको मुम्बईबाट आएका थिए ।

प्रवक्ता देवकोटाले भने,‘ उहाँको बैशाख ३० गते भारतबाट आएको हिष्ट्री छ । गएराति अकस्मात स्वास्थ्य समस्या ज्वरो,झाडापखाला लगायतका समस्याहरु देखियो र आज विहान ६ बजेर ४० मिनेटमा क्वारेन्टाइनमा निधन भएको छ । र उहाँको स्वाब हिजै लिईएको थियो । परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।’

क्वारेन्टाइनमा बसेका उनको   हिजै स्वाब संकलन भईसकेको थियो । एक्कासी स्वास्थ्य अवस्था असामान्य भएपछि  एम्बुलेन्स समेत बोलाइएपनि एम्बुलेन्स नपुग्दै बिहानै उनको मृत्यु भएको हो।

यो संगै अहिलेसम्म २ जनाको मृत्यु भएको छ । हिजो मात्रै सिन्धुपाल्चोककी २९ वर्षीया युवतीको निधन भएको थियो । अहिलेसम्म देशभर संक्रमितको संख्या २ सय ९१ पुगेको छ ।

नेपालमा पहिलो पटक माघ १० गते कोरोना संक्रमण देखिएको थियो । संक्रमणको जोखिम बढेपछि चैत्र ११ गदेखि मुलुक लकडाउनमा छ । नेपालमा कोरोना संक्रमण पुष्टि भएको झण्डै ४ महिनापछि मानिसको ज्यान जान थालेको छ ।

 



प्रतिक्रिया दिनुहोस !