१६ चैत्र २०८०, शुक्रबार

एकै दिन ५९ जना कोरोना संक्रमित भेटिएपछि बाँकेको नरैनापुर पूर्ण बन्द गरियो

प्रकाशित मिति :  19 May, 2020 8:51 am


बाँके, ६ जेठ । 

बाँकेको नरैनापुरमा एकै दिन ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि अनिश्चितकालका लागि पूर्ण रुपमा बन्द गरिएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले नरैनापुरलाई खतरा क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मका गाउँपालिकालाई नै पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि भारतसँग सीमा जोडिएको नरैनापुर गाउँपालिकामा छ वटा वडा छन् । यसको उत्तरपूर्वमा राप्तीसोनारी गाउँपालिका जोडिएको छ । सङ्क्रमण न्यूनिकरणका लागि गाउँपालिकामा अत्यावश्वक कामबाहेक पूर्ण रुपमा आवतजावत ठप्प हुने गरी बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।

नरैनापुरमा सोमबार फेला परेका ५९ जनासहित गाउँपालिकामा मात्रै सङ्क्रमितको सङख्या ६८ पुगेको छ । यसअघि नै नरैनापुरमा एक जनाको ज्यान जाने गरी नौ जनामा सङ्क्रमण देखिएको थियो । नरैनापुरमा शुरुमा फेला परेका आठ जनासँगको सम्पर्कमा आएका २६३ जनाको स्वाब परीक्षण गर्दा ५९ जनामा सोमबार रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, सोमवार सङ्कलित ९३ सहित अझै ११० जनाको स्वाब परीक्षणका क्रममा छ । यससँगै बाँकेमा सोमबारसम्म ९३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । सोमबार अपराह्न ४७ र राति १० बजेपछि १२ जना गरी ५९ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । यसअघि नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ मा २४ र वडा नं ७ मा एक गरी २५ जनामा सङ्क्रमण देखिएको छ ।

बाँकेमा पहिलो पटक फेला परेका नेपालगञ्जका २५ जनालाई खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा राखेर उपचार गरिए पनि त्यसपछि नरैनापुरमा फेला परेका आठ जनालाई दाङ आइसोलेशन अस्पतालमा पठाइएको छ । सोमबार पुष्टि भएका ५९ जनालाई नरैनापुरमै रहेको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य चौकीमा आइसोलेशन सेवासहितको उपचार सेवा दिने तयारी भएको छ ।



प्रतिक्रिया दिनुहोस !