१३ बैशाख २०८१, बिहिबार

नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा मैले राखेको हुँ : बामदेव गौतम

प्रकाशित मिति :  20 May, 2020 9:52 am


काठमाण्डौं, ७ जेठ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले छुटेको नेपाली भूमि समावेश गरेर नक्सा जारी गर्ने प्रस्ताव पार्टीमा आफूले राखेको बताएका छन् ।

समाजिक सञ्जाल फेसबुकमा उपाध्यक्ष गौतमले विगतदेखि नै आफूले नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने माग पार्टीमा सशक्त रुपमा राख्दै आएको बताएका छन् ।

उनले भनेका छन्,‘मैले शुरुदेखि नै पार्टीमा सशक्त विचार र जोडदार माग राख्दै आएको म सबैमा स्मरण गराउन चाहन्छु । यसपटक पनि छुटेका नेपाली भूभाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा मैले नै राखेको यहाँहरु सबैमा जानकारी गराउँछु ।’

उपाध्यक्ष गौतमले ऐतिहासिक तथ्य, प्रमाण र लिखतद्वारा निर्दिष्ट गरिएको आधारमा नेपाल सरकारले हाम्रो देशको नयाँ नक्सा सार्वजनिक गरेको भन्दै यसप्रति समस्त नेपाली जनसमुदाय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति आभारी छ भनेका छन् ।

उपाध्यक्ष गौतमले भनेका छन्,‘वर्तमान सरकारका अनेकन कार्य आलोचनायोग्य हुँदाहुँदै पनि यो काम भने स्वागतयोग्य छ । किनभने, सिमाना व्यवस्थापनसँग सम्बन्धित हाम्रा ऐतिहासिक अभिलेखलाई यो नक्साले अझ बलियो प्रमाणका रुपमा आत्मसात् गर्दै आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र उर्जा दिने काम भएको छ ।’

अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ भन्दै उपाध्यक्ष गौतमले यो निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्,‘हामीले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुर्छ ।’



प्रतिक्रिया दिनुहोस !