३१ भाद्र २०८१, सोमबार

भारतको गुजरातमा बाढीका कारण मृत्यु हुनेको संख्या ३५ पुग्यो

प्रकाशित मिति :  30 August, 2024 10:08 am


काठमाडौँ । पश्चिमी भारतको गुजरात राज्यमा वर्षासँग सम्बन्धित घटनामा मृत्यु हुनेको संख्या ३५ पुगेको स्थानीय सञ्चारमाध्यमले बिहीवार जनाएको छ ।

लगातार चौथो दिन पनि राज्यका विभिन्न स्थानमा भारी वर्षा जारी छ । अविरल वर्षाका बीच राजकोट अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पर्खाल बिहीवार बिहान भत्किएको छ । अधिकारीहरूका अनुसार राज्यका प्रभावित जिल्लाहरूमा राहत र उद्धार कार्य जारी रहेको छ ।

बाढी प्रभावित क्षेत्रबाट झन्डै १८ हजार मानिसलाई विस्थापित गरिएको छ भने ४० हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ । बुधवार देवभूमि द्वारका, जामनगर, राजकोट र पोरबन्दर जस्ता सौराष्ट्र क्षेत्रहरूमा १२ घण्टामा ५० देखि २०० मिलिमिटरसम्म वर्षा भएको थियो ।

यस अवधिमा देवभूमि द्वारकाको भानवड तालुकमा १८५ मिलिमिटर वर्षा भएको छ, जुन राज्यकै सबैभन्दा बढी हो । वर्षाले राज्यमा सवारी साधनको आवागमन, रेल सेवा र उडान सञ्चालन पनि अवरुद्ध भएको छ ।



प्रतिक्रिया दिनुहोस !