२३ बैशाख २०८१, आइतबार

दार्चुलाको घाँटीबगर क्षेत्रमा नेपाली सेना तैनाथ

प्रकाशित मिति :  21 May, 2020 8:51 pm


दार्चुलाको व्यास गा.पा.-२ घाँटीबगर ईलाकाको थी भन्ने ठाँउमा बाटो निर्माण कार्यका लागि फौज तैनाथ गर्दै नेपाली सेनाको एमआई-१७ हेलिकप्टर । फोटोः नेपाली सेना

काठमाण्डौं,८ जेठ ।

दार्चुलाको घाँटीबगर क्षेत्रमा नेपाली सेना तैनाथ भएको छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले सडक निर्माणका लागि आवश्यक सुरक्षा तथा बन्दोबस्तीका लागि आज विहान ११ बजे घाँटीबगर क्षेत्रको थी भन्ने ठाँउमा नेपाली सेनाको ‘एक सेक्सन प्लस’ फौज तैनाथ भएको जनाएको छ ।

निर्देशनालयले सो सडक खण्ड अन्तरगत पर्ने दार्चुला जिल्लाको व्यांस गांउपालिका वडा नं. २ स्थित घांटीबगर इलाकामा करिव २ मिटर चौडाईको ४५० मिटर गोरेटो र घोडेटो बाटो निर्माण कार्यको लागि आवश्यक सुरक्षा तथा बन्दोबस्तीको निमित्त आज विहान ११ बजे घाँटीबगर  इलाका नजिकको थी मा नेपाली सेनाको एक सेक्सन प्लस फौज तैनाथ भएको हो ।

साथै बाटो निर्माण कार्यको लागि दक्ष प्रावधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीको निमित्त आवश्यक नफ्रिको फौज, उपकरण एवं अन्य सामाग्रीहरु सहितको टोली जेष्ठ ९ गते तैनाथ गर्ने याजना रहेको सेनाले जनाएको छ ।

मन्त्रिपरिषद्को वैशाख १४ मा बसेको बैठकले महाकाली करिडोर (दार्चुला टिंकर सड्क योजना) अन्तरर्गत उत्तरी तर्फ रहेको ८७ कि.मि सडक खण्ड नेपाली सेना मार्फत निर्माण गराउने निर्णय गरेको थियो ।

चीन र भारतको सिमा नाका समेत पर्ने दार्चुला जिल्लाको व्यास गा.पा.१ मा पर्ने छाङरु र टिंकर गाउँका करिब १८२ घर परिवारको करिब १२ सय जना स्थानीयलाई जिल्ला सदरमुकाम खलङ्गा आवतजावत गर्नको लागि व्यास गा.पा.—२ मा पर्ने पर्ने मौरी भिरमा ठूलो चट्टान र घाँटीबगर भन्ने स्थानमा पहिरो समेत गएकोले आवतजावत गर्न समस्या भएको तथा स्थानीय बासिन्दाले हालसम्म भारत तर्फ रहेको बाटो प्रयोग गर्दै आएकोले त्यसलाई मध्यनजर गर्दै सेना तैनाथ भएको निर्देशनालयले जनाएको छ ।

घाँटीबगर र मौरी भिर ईलाकामा पर्ने ४ सय ५० मिटर सडक खण्ड अविलम्ब सुचारु गर्न दार्चुला जिल्ला सुरक्षा समितिबाट निर्णय भए बमोजिम सडक खण्ड निर्माणको लागी नेपाली सेनाको प्रावधिक जनशक्ति सहित से.मु.प्लस नफ्रिको फौज घांटीबगर ईलाकाको थी ईलाकामा तैनाथ गर्ने योजना मुताविक आज सो फौज तैनाथ भएका सेनाले जनाएको छ ।

सडक खण्ड खुलेपछि स्थानीय बासिन्दाहरु नेपालकै भूमी प्रयोग गरी आवत जावत गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस !