२ जेष्ठ २०८१, बुधबार

बाँकेको नरैनापुरमा फरार कोरोना संक्रमित पक्राउ

प्रकाशित मिति :  23 May, 2020 10:35 am


बाँके,१० जेठ ।

बाँकेको नरैनापुर गाउँपालिकाबाट हिजो फरार भएका एक सङ्क्रमितलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।

नरैनापुर ३ नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, शङ्करनगर कोटियाको क्वारेन्टिनमा रहेका १२ सङ्क्रमितमध्ये कोरोना पुष्टि भएसँगै गए राति फरार भएका एक जनालाई बिहान ३ बजे फेला पारी नेपालगञ्ज ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

सङ्क्रमित पुष्टि भएपछि आइसोलेशन केन्द्रमा व्यवस्थापनका लागि नेपालगञ्जबाट एम्बुलेन्ससहित सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोली नरैनापुर पुग्दा स्थानीयवासीले अवरोध गरेपछि शुक्रबार पुष्टि भएका सङ्क्रमित क्वारेन्टिनबाट बाहिर निस्किएका थिए ।

बाह्र सङ्क्रमितलाई गए राति करीब १२ बजे नेपालगञ्ज ल्याएर फरार सङ्क्रमित खोज्न खटिएको सुरक्षा टोलीले गाउँमै लुकेर बसेका अवस्थामा उनलाई बिहान फेला पारेको प्रहरी उपरीक्षक वलीले बताए ।

उनलाईंले स्थानीयवासी र अन्य सरोकार भएकाहरुले असहयोग गर्दा नरैनापुरबाट सङ्क्रमितलाई ल्याउन पटकपटक अवरोध देखिए पनि आफूहरुले धैर्यपूर्वक काम गरिरहेको बताए ।

नरैनापुरको अर्को विद्यालयमा रहेका क्वारेन्टिनमा एकसहित शुक्रबार मात्रै नरैनापुरमा १३ र राप्तीसोनारीमा एक गरी बाँकेमा १४ सङ्क्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
सदरमुकाम नेपालगञ्जबाट करबी ३५ किलोमिटर दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुर मात्रै ८७ सङ्क्रमित पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस !