२४ मंसिर २०८१, सोमबार

अन्तर्राष्ट्रिय सम्मेलनमा मुख्यमन्त्रीको सम्वोधन : प्रदेशको समग्र विकासमा खुलेर लगानी गर्न आह्वान

प्रकाशित मिति :  12 November, 2024 8:51 am


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासमा लगानी गर्न अन्तराष्ट्रिय समुदाय समक्ष आह्वान गरेका छन् ।

चीनको सिचुआन प्रदेश सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले समग्र प्रदेशको विकासमा लगानी गर्न आह्वान गरेका हुन् ।

लुम्बिनी प्रदेशभित्र कुनै पनि क्षेत्रमा सिचुवान प्रान्तलगायत कुनै पनि प्रान्तबाट इच्छुक लगानीकर्ताको लगानी भित्राउन र लगानी सुरक्षित गर्न आवस्यक सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको समेत बताए । उनले लुम्बिनी प्रदेशमा खुलेर लगानी गर्न आह्वान गरे ।

साथै लुम्बिनी प्रदेशले छिटै लगानी सम्मेलनको आयोजना गर्ने जानकारी दिँदै मुख्यमन्त्री आचार्यले सम्मेलनमा सहभागी हुन कुटनैतिक नियोगमार्फत् पत्रचार हुने बताए ।

उनले सिचुआन प्रदेश सरकार, विभिन्न लगानीकर्ताहरु, कम्पनीहरु, संघसंस्थालाई उत्साहपूर्ण उपस्थितिका लागि आह्वान गरेको हो । सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी, गौतम बुद्धको जन्मस्थललाई समृद्ध बनाउने, यसलाई विश्वको एक महत्त्वपूर्ण र नमुना स्थल बनाउने दायित्व सबैको साझा रहेको बताए ।

उनले लुम्बिनीसँग जोडिएका विकास निर्माणका कार्यहरुमा साझा लगानी गर्न आह्वान गरे । ‘‘लुम्बिनी, गौतम बुद्धको जन्मस्थललाई समृद्ध बनाउने, यसलाई विश्वको एक महत्त्वपूर्ण र नमुना स्थल बनाउने दायित्व हामी सबैको साझा हो । तसर्थ यससंग जोडिएका विकास निर्माणका कार्यहरुमा साझा लगानी गरौं । साझा प्रतिफल हासिल गरौं । विश्वको शान्ति दीपलाई थप प्रज्ज्वल्लित गरौं’’, मुख्यमन्त्री आचार्यले भने, ‘‘म हार्दिक आमन्त्रण गर्दछु कि हामी अब छिट्टै लुम्बिनीमा लगानी सम्मेलन गर्दैछौं । त्यसका लागि यहाँहरुको उपयुक्त समयका बारेमा छलफल गर्दै सो समयको किटानपश्चात् हाम्रो कुटनैतिक नियोगमार्फत् पत्राचार गर्नेछौं । त्यसमा यहाँको प्रदेश सरकार, विभिन्न लगानीकर्ताहरु, कम्पनीहरु, संघसंस्था सबैको उत्साहपूर्ण उपस्थिती हुनेछ ।’’

सम्मेलनमा मुख्यमन्त्री आचार्यले बौद्ध पर्यटनको विविधीकृत विकासका लागि घनिष्ट सहकार्य गर्न आग्रह गरे । ‘‘स्थानीय जनता, पर्यटन व्यवसायी र पथप्रदर्शकहरु, हाम्रो सरकारअन्तर्गतका बुद्ध सर्किटमा पर्ने नगरपालिकाहरु, लुम्बिनी बौद्ध विश्वविद्यालय, साँस्कृतिक सम्पदास्थलहरु आदिसँग घनिष्ट सहकार्यका लागि समेत आह्वान गर्न चाहन्छु’’, आचार्यले भने, ‘‘लुम्बिनी प्रदेशभित्रका गरिएका बस्तुको उत्पादनहरुको विकास र ब्राण्डिङ गर्दै हाम्रा जनताको रोजगारी र जीवनयापनसँग जोड्न तपाईँहरुको अनुभव प्रविधि मात्र नभई उत्पादित बस्तुको बजार सृजना गर्न, नियमित व्यापार मेला आयोजना गर्न वा लुम्बिनी प्रदर्शनी केन्द्र स्थापना गर्नका लागि पहल गर्न समेत यहाँहरु समक्ष अनुरोध गर्दछु ।’’

लुम्बिनी भ्रमण गर्न सिचुआन सरकार, सिचुवानबासी समुदाय तथा आम चिनीया जनतालाई आमन्त्रण समेत गरेका छन् ।

सिचुआन सरकारसँग भएको भगिनी सम्बन्धलाई प्रगाढ बनाउन छेन्दु र भैरहवा बिच सिधा हवाइ सेवा सञ्चालन गर्न आग्रह गरेका छन् । सिधा हवाइ सेवा सुरु हुँदा दुई मितेरी प्रदेशका जनताको मित्रता अझ बढी प्रगाढ हुने बताए ।



प्रतिक्रिया दिनुहोस !