१० चैत्र २०८१, सोमबार

लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा गण्डकीका मुख्यमन्त्री पाण्डेलाई पाल्पामा स्वागत

प्रकाशित मिति :  12 February, 2025 12:13 pm


पाल्पा । लुम्बिनी प्रदेशको आयोजनामा अन्तरप्रदेशीय स्तरीय बैठक पाल्पाको ऐतिहासिक रानीमहलमा सुरु भएको छ। बैठकमा सहभागी हुन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पाल्पा आइपुग्दा, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भव्य स्वागत गरेका हुन् ।

बैठकमा दुई प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरू, प्रमुख सचिव, सचिवहरू तथा उच्चस्तरीय सरकारी अधिकारीहरूको विशेष उपस्थिति रहेको छ।

दुवै प्रदेशको समृद्धि र विकासका साझा सरोकारलाई समेट्दै, बैठकमा विशेष छलफल हुनुका साथै दुवै मुख्यमन्त्रीले साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्ने तयारी छ। प्रतिबद्धता पत्रलाई दुवै प्रदेशका वार्षिक नीति तथा कार्यक्रम तथा आगामी बजेट निर्माणमा समावेश गरिनेछ।

बैठकका प्रमुख एजेन्डाहरू

बैठकमा प्रदेशस्तरीय नीति निर्माण, कर प्रणाली, पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन, विपद् व्यवस्थापन, लागूऔषध नियन्त्रण, तथा सुशासन प्रवर्द्धनका विषयमा विस्तृत छलफल हुनेछ।

साथै, प्रदेशस्तरीय कर प्रणालीमा एकरुपता कायम गर्दै प्राकृतिक स्रोत तथा साधनबाट सङ्कलन हुने रोयल्टी बाँडफाँटमा सहमति जुटाइने छ।

सहमति गरिने मुख्य विषयहरू

संयुक्त पूर्वाधार विकास: दुवै प्रदेशलाई जोड्ने मुख्य सडक तथा पुल निर्माणका लागि नेपाल सरकारसँग समन्वय गर्दै साझेदारी योजना अघि बढाइने।

ठूला परियोजनामा सहकार्य: दीर्घकालीन हितका सम्भावित ठूला परियोजनाहरू पहिचान गरी सहलगानीका आधारमा सञ्चालन गरिने।

प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन: साझेदारी, सहकार्य, र समन्वयात्मक ढङ्गबाट विपद् न्यूनीकरण तथा व्यवस्थापन कार्य अघि बढाइने।

लागूऔषध नियन्त्रण: सुरक्षा निकायहरूसँग सहकार्य गरी लागूऔषध ओसारपसारको प्रभावकारी नियन्त्रण तथा रोकथामका लागि विशेष कार्यक्रम सञ्चालन गरिने।

संयुक्त पर्यटन प्रवर्द्धन: दुवै प्रदेशका प्रमुख पर्यटकीय स्थलहरूलाई जोडेर निजी क्षेत्रको सहकार्यमा आकर्षक संयुक्त पर्यटन प्याकेज निर्माण गरिने।

सीमा क्षेत्रका जलस्रोत व्यवस्थापन: जलविद्युत् उत्पादन, प्रसारण लाइन विस्तार, तथा सिँचाइ संरचनाको निर्माणमा सहकार्य गर्दै प्राकृतिक स्रोतहरूको दीर्घकालीन उपयोगमा जोड दिइने।

सूचना प्रविधिको उपयोग: दुवै प्रदेशको विकास, सुशासन, र सेवाप्रवाहलाई प्रभावकारी बनाउन सूचना प्रविधिको उपयोगलाई प्राथमिकता दिइने।

बैठकले लुम्बिनी र गण्डकी प्रदेशबीचको आपसी सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ। साझा विकासका एजेन्डाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै प्रदेशहरूबीचको सहकार्यलाई सुदृढ बनाउन बैठक महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस !