प्युठानमा अपुरो विद्युतीकरण पूरा गर्न एमाले नेता सूर्य थापाको पहल

प्युठान । प्रतिनिधि सभा सदस्य एवम् नेकपा (एमाले) पोलिटब्युरो सदस्य, जिल्ला इन्चार्ज सूर्यबहादुर थापाले प्युठान जिल्लामा अपुरो रहेको विद्युतीकरणको काम छिटो सम्पन्न गर्न तथा विद्युत सेवाको गुणस्तर सुधार गर्न नेपाल विद्युत प्राधिकरणका अधिकारीहरूसँग छलफल गरेका छन्।
भालुबाङस्थित होटल इभरल्याण्डमा सम्पन्न उक्त छलफलमा नेपाल विद्युत प्राधिकरण लुम्बिनी डिभिजन कार्यालयका प्रमुख वरिष्ठ ई. राजीव सिंह, लेखा प्रमुख तथा तुल्सीपुर प्रमुखको सहभागिता रहेको थियो । छलफलमा स्याउलीबाङ र रजबारामा बाँकी रहेको विद्युत विस्तार यथाशीघ्र पूरा गर्ने विषयमा जोड दिएका थिए ।
त्यसैगरी, बिजुवार क्षेत्रमा सडक बत्ती विस्तार गर्ने, चुधारा-कुभिण्डे, टिमुरचौर-दियाल्ना, मरेङ-छेपानेलगायतका क्षेत्रमा विद्युत प्रवाहलाई सुधार गर्ने विषयमा छलफल भएकाे थियो ।
साथै, बुटवल पावर कम्पनीको वितरण कार्यक्रमलाई नेपाल विद्युत प्राधिकरणअन्तर्गत् एकीकृत रूपमा सञ्चालन गर्न आवश्यक व्यवस्थापन गर्नेबारे पनि थापाले ध्यानाकर्षण गराएका थिए।
ददेरीको रत्ने क्षेत्रमा असुरक्षित रूपमा तानिएको तारलाई सुरक्षित बनाउने र ल्होसार खेल मैदानको माथिल्लो लाइनलाई सुरक्षित गर्ने विषयमा पनि विशेष छलफल गरिएको थियो ।
नेता थापाले प्युठानका बासिन्दाले गुणस्तरीय तथा सुरक्षित विद्युत सेवा प्राप्त गर्नुपर्नेमा जोड दिँदै सम्बन्धित निकायलाई आवश्यक पहल गर्न आग्रह गरेका थिए । उनले विद्युत सेवाको स्तरवृद्धि र विद्युतीकरण कार्य छिटो सम्पन्न गर्न संसदमा समेत आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।