१३ बैशाख २०८२, शनिबार

मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र संवर्द्धन सबैको दायित्व-मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  26 February, 2025 7:01 am


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व भएको बताएका छन् ।

शिवरात्रि पर्व, २०८१ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले प्रदेश सरकारले मौलिक कला, संस्कृति तथा सम्पदाको संरक्षणका लागि नीति अवलम्बन गरिरहेको उल्लेख गरे।

आधुनिकताको प्रभावसँगै पर्वहरू मनाउने शैलीमा परिवर्तन भए पनि त्यसका नाममा विकृति तथा विसंगति फैलिन नदिन सबै पक्ष सचेत रहनुपर्ने उनको भनाइ छ ।

मुख्यमन्त्री आचार्यले महाशिवरात्रि भगवान् शिवको उत्पत्तिसँग सम्बन्धित पवित्र पर्व भएको उल्लेख गर्दै यसलाई कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रीमध्ये एक मानिने बताए ।

उनले देशभरका शिवालयहरूमा विशेष आराधना भइरहेको जनाउँदै लुम्बिनी प्रदेशका धार्मिक मठ, मन्दिर तथा सम्पदाहरूलाई आपसमा जोड्ने पर्यटन सर्किटको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

उनले नेपाली भूमि र भगवान् शिवबीचको ऐतिहासिक सम्बन्धलाई उजागर गर्दै नेपाल सदा आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको उल्लेख गरे ।

वैदिक परम्परामा शिवलाई संहारको शक्ति मानिए पनि उहाँमा सौम्य र रौद्र दुवै स्वरूप समाहित रहेको बताउँदै प्रकृतिको सिर्जनात्मक तथा संहारकारी शक्तिलाई समान रूपमा प्रतिनिधित्व गर्ने धारणा व्यक्त गरे ।

मुख्यमन्त्री आचार्यले महाशिवरात्रि पर्वले सबैलाई आफ्ना आचरण, व्यवहार र चिन्तनलाई सकारात्मक बनाउँदै अगाडि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !