८ जेष्ठ २०८१, मंगलबार

रोल्पा नगरपालिकाद्धारा कोभिड विशेष कृषि कार्यक्रम सुरु,असार ५ भित्र प्रस्ताव पेश गर्नुपर्ने

प्रकाशित मिति :  5 June, 2020 5:09 pm


रोल्पा, २३ जेठ ।

रोल्पा नगरपालिकाले कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्न समिति गठन गरेको छ ।

कार्यपालिका बैठकले कोभिड १९ कोरोना रोगको जोखिम परिस्थितिमा सरकारको निर्णय बमोजिम कृषि कार्यक्रम सञ्चालन गर्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलको अध्यक्षतामा समिति गठन गरेको हो ।

समितिमा योजना शाखा प्रमुख निमप्रसाद शर्मा, लेखा शाखाका सुदीप डाँगी, कृषि तथा पशु शाखाका दिलमाया डाँगी सदस्य र कृषि शाखाका महेन्द्र पुन सदस्य सचिव रहने नगरपालिकाले जनाएको छ ।   समितिले आमन्त्रित सदस्यका लागि नगर उप प्रमुख मनकुमारी घर्ती र प्रधानमन्त्री आधुनिकिकरणका प्रमुख ई विज्ञका रुपमा राख्ने निर्णय गरेको छ ।

नगरपालिकाले विदेश तथा देश बाहिरबाट आउने रोल्पा नगरपालिका भित्रका वासिन्दहरुलाई यातायात व्यवस्थापन गर्न स्वास्थ्य शाखा प्रमुख टंक गिरीको संयोजकत्वमा समिति बनाएको छ । समितिमा, बिपिन कँवर, चित्र सेन, बेदुराम आचार्य रहने छन् ।

कृषि मार्फत स्वरोजगार बनाउने अभियान सहित भारत वा देशबाहिर बाट आएका नागरिकका लागि अनुदान प्रदान गर्ने कार्यक्रम अघि बढाएको नगरपालिका प्रमुख पूर्ण केसीले जानकारी दिए ।   यसैगरि नगरवासिहरुलाइ बैंकिङ कारोबारमा समस्या उत्पन्न भएको भन्दै आइतबारदेखि दैनिकरुपमा बैंकिङसेवा प्रदान गर्न बैंकहरुलाइ अनुरोध गर्ने नगरपालिकाले निर्णय गरेको छ ।

नगरपालिकाले कोभिड लक्षित व्यवसायिक तरकारी खेती प्रवद्र्धन कार्यक्रम अन्तर्गत कम्तिमा २ रोपनीमा खेती गर्नेलाई बढीमा २० हजार रुपैयाँ, विदेशबाट फर्केका र व्यवसाय उन्मुख कृषिकहरुलाई कृषि विकास प्रोत्साहन कार्यक्रममा २ देखि ३ रोपनीमा खेती गर्नेलाई बढिमा २० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

त्यस्तै बालीको उत्पादन र उत्पादकत्व वृद्धिका लागि बीउ उत्पादक समूह वा सहकारीलाई प्रोत्साहन कार्यक्रम अन्तर्गत प्रति रोपनी एक हजार रुपैयाँका दरले अनुदान दिने पनि निर्णय गरेको छ । नगरपालिकाले आज सूचना जारी गर्दै असार ५ गतेभित्र आवश्यक कागजातसहित विवरण पेश गर्न भनेको छ ।



प्रतिक्रिया दिनुहोस !