२१ बैशाख २०८१, शुक्रबार

आज विश्व खाद्य स्वच्छता दिवसः खाद्य अधिकार सुनिश्चितताकाे लागि सरकार प्रतिवद्ध छः प्रम ओली ::

प्रकाशित मिति :  7 June, 2020 7:54 am


काठमाडाैं, २५ जेठ । 

आज जून महिनाकाे ७ तारिक । विश्वभर खाद्य स्वच्छता दिवस मनाइदै छ । विश्वमा दाेस्राे वर्ष मनाइदै गरिएकाे याे दिवस नेपालमा भने १२ वर्षदेखि मनाइदै आइएकाे छ ।

विश्व खाद्य स्वच्छता दिवसकाे अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले खाद्य स्वच्छताका लागि सरकार प्रतिवद्ध रहेकाे बताएका छन् ।

‘कोरोना भाईरसको जोखिमबाट सुरक्षित हुनको लागि सबै दिदीबहिनी तथा दाजूभाइहरुलाई सन्तुलित, पोषिलो तथा स्वच्छ खानाको उपभोग गर्न र व्यक्तिगत सरसफाई कायम राख्न अपिल गर्दछु,’ वक्तब्यमा उल्लेख छ ।

स्वच्छ खाद्यवस्तु उपभोग गर्ने नागरिकको अधिकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को हाम्रो राष्ट्रिय आकाङ्क्षासँग गाँसिएको र यसै अनुरूप सरकारले कोही भोकै पर्दैन, कोही भोकले मर्दैन भन्ने नीति अख्तियार गरी कार्यान्वयनमा ल्याएको ओलीले भनेका छन् ।

कोभिड–१९ को विश्वब्यापी महामारीका जोखिम कम गर्न सन्तुलित र स्वच्छ खाद्यवस्तु र औषधिजन्य बनस्पतिको प्रयोगमा जोड दिन प्रधानमन्त्रीले आव्हान गरेका छन् ।

संयुक्त राष्ट्र संघकाे निर्णय अनुसार २०१९ देखि जून ७ का दिन विश्वभर खाद्य स्वच्छता दिवस मनाउन थालिएकाे हाे । नेपालमा भने १२ वर्षदेखि  कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतकाे खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकाे नेतृत्वमा हरेक वर्ष खाद्य स्वच्छता दिवस मनाउदै आइएकाे छ ।

यस्ताे छ प्रधानमन्त्रीकाे शुभकामना सन्देशकाे पूर्णपाठः

आज जून ७ का दिन हामी विश्वव्यापी रुपमा दोस्रो विश्व खाद्य स्वच्छता दिवस मनाउँदै छौँ । यस अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

सन् २०१८ डिसेम्बर २० का दिन संयुक्त राष्ट्र संघको महासभाले हरेक वर्ष जून ७ का दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरे अनुसार सन् २०१९ देखि हरेक वर्ष विश्वव्यापी रुपमा मनाइने यस दिवसलाई हामीले नेपालमा पनि विभिन्न कार्यक्रमहरुका साथ मनाउँदै आइरहेका छौँ । कोरोना भाइरसको महामारीले अहिले विश्व कठीन मोडबाट गुज्रीरहेको छ । मानिसको जीवनमा खाद्य वस्तुको स्वच्छताको महत्व यस बेला झन् मुखर हुँदै आएको छ ।

विश्वब्यापी महामारीले संसारका अधिकाशं देशमा बन्दाबन्दी रहेको समयमा पनि यस वर्ष ‘खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ दोस्रो विश्व खाद्य स्वच्छता दिवस मानाइँदै छ ।

हाम्रो संविधानले हरेक नेपालीका लागि खाद्य सम्बन्धी हक र खाद्य सम्प्रभुताको हक सुनिश्चित गरेको छ । नागरिकको खाद्य सम्बन्धी हकलाई परिपूर्ण बनाउँदै सरकारले ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने नीति तय गरी कार्यान्वयनमा ल्याएको छ । खान नपाएकै कारण ज्यान जाने अवस्थाको हामीले अन्त्य गरेका छौं ।

खानेकुरा नभएर बालबालिकाले सडकमा माग्दै हिंड्नु पर्ने अवस्थाको अन्त्य गरी तिनीहरुको ब्यवस्थापन गरेका छौं । यदाकदा कोही भोकै रहने अवस्था आए राज्यको सम्बन्धित निकायसम्म खबर पुर्याइदिन पनि यस अवसरमा सबैमा आह्वान गर्दछु ।

खाद्य सम्बन्धी अधिकार सँगसँगै खाद्यवस्तुको स्वच्छता अर्काे महत्वपूर्ण पक्ष हो । खाद्यवस्तु उपलब्ध भएर मात्र पुग्दैन, उपलब्ध खाद्यवस्तु गुणस्तरीय, स्वच्छ एवं सन्तुलित र पोषिलो पनि हुनु पर्दछ । जबसम्म खाद्यवस्तुको स्वच्छताको सुनिश्चितता हुँदैन तबसम्म खाद्य सम्बन्धी हक सार्थक हुन सक्दैन ।

खाद्यवस्तुको स्वच्छता कायम राख्न सरकारको मात्रै प्रतिवद्धता पर्याप्त हुँदैन । त्यसैले खाद्य श्रृंखलासँग सम्बद्ध सबैले खाद्यवस्तुको स्वच्छताका लागि आ–आफ्नो तहमा प्रतिबद्ध रहन जरुरी छ ।

नागरिकको खाद्य अधिकार र स्वास्थ्यको सुरक्षालाई मैले सधैं उच्च प्राथमिकतामा राखेको छु । पछिल्लो पटक फैलिएको कोभिड–१९ को विश्वब्यापी महामारीका जोखिम कम गर्न सन्तुलित र स्वच्छ खाद्यवस्तु र औषधिजन्य बनस्पतिको प्रयोगमा जोड दिन मैले आग्रह गर्ने गरेको छु ।

कोरोना भाईरसको जोखिमबाट सुरक्षित हुनको लागि सबै दिदीबहिनी तथा दाजूभाइहरुलाई सन्तुलित, पोषिलो तथा स्वच्छ खानाको उपभोग गर्न र व्यक्तिगत सरसफाई कायम राख्न अपिल गर्दछु ।

स्वच्छ खाद्यवस्तु उपभोग गर्ने नागरिकको अधिकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को हाम्रो राष्ट्रिय आकाङ्क्षासँग गाँसिएको छ । त्यसैले सरकारले कोही भोकै पर्दैन, कोही भोकले मर्दैन भन्ने नीति अख्तियार गरी कार्यान्वयनमा ल्याएको हो ।

हामीले खाद्यवस्तुको स्वच्छता र गुणस्तर कायम गर्न नसकेको अवस्थामा एकातिर कृषि तथा खाद्यान्नमा आधारित उद्योग व्यवसाय फस्टाउन सक्दैनन् भने अर्काेतर्फ आम जनसमुदायको स्वास्थ्यमा प्रतिकूल असर पर्दछ । यसले गर्दा कृषि तथा खाद्यान्नमा आधारित निर्यातमा समेत नकारात्मक असर पर्न जान्छ ।

स्वदेशी खाद्यवस्तुको स्वच्छता र गुणस्तरलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको स्तरमा पु¥याउन सकिएन भने पर्यटन क्षेत्रमा पनि अपेक्षाकृत प्रगति हासिल गर्न सकिंदैन । तसर्थ राष्ट्रिय स्तरमा खाद्य स्वच्छता कायम राख्न खाद्य ऐनलाई समायानुकूल बनाइ तीनवटै तहका सरकारहरुबीच प्रभावकारी समन्वय एवं सहकार्य गर्न हामी अग्रसर छौं ।

खाद्यान्न व्यापारको विश्वव्यापीकरणको परिप्रेक्ष्यमा आयातीत खाद्यवस्तुको स्वच्छता एवं गुणस्तर नियमन गर्ने काम चुनौतिपूर्ण नै छ । तसर्थ हामीले जोखिमको आधारमा खाद्यवस्तुहरुको वर्गीकरण गरी आयातपूर्व, आयात बिन्दू तथा आयात पश्चात् खाद्यवस्तुहरुको स्वच्छता नियमन, नियन्त्रण तथा व्यवस्थापन गर्ने प्रणाली विकास गरिरहेका छौं । त्यसैगरी निर्यातयोग्य कृषि उपज तथा खाद्यवस्तुहरुको स्वच्छता एवं गुणस्तर कायम राखी निर्यातमा समेत सहजीकरण गर्न आवश्यक छ ।

हामीले उपभोग गर्ने खाना अस्वच्छ र कमसल भएमा एकातिर हामी विभिन्न अल्पकालीन तथा दीर्घकालीन रोगहरुको शिकार हुन पुग्छौं, अर्कातिर खाद्य वस्तुमा खरावी देखिएका कारण खाद्य व्यापारमा ठूलो नोक्सानी व्यहोर्नु पर्ने हुन्छ । तसर्थ सबै नेपालीलाई स्वस्थ्य र निरोगी बनाइराख्न, खाद्यान्न व्यापारमा वृद्धि गर्न र खाद्यान्न निर्यातलाई समेत प्रवद्र्धन गर्न खाद्य वस्तुको स्वच्छता र गुणस्तरमा विशेष ध्यान दिनु पर्दछ ।

खाद्य स्वच्छताको सुनिश्चितताका लागि म देशका सम्पूर्ण किसान दिदीवहिनी तथा दाजुभाइहरुमा उत्पादन गर्दा सधैँ असल कृषि र असल पशुपालनको अभ्यास गर्न आह्वान गर्दछु । त्यसैगरी खाद्य प्रशोधन उद्योगमा सधैँ असल उत्पादन अभ्यास गर्दै प्रभावकारी नियमन एवं स्वीकृत मापदण्डहरुको कार्यान्वयनमा ध्यान दिन विशेष आग्रह गर्दछु ।

अन्त्यमा, खाद्यवस्तुको स्वच्छता र गुणस्तर कायम राख्न सम्बन्धित निकाय, सरकारी तथा गैर सरकारी संघ संस्थाहरु, पेशाकर्मी, उद्यमी–ब्यवसायी, विकास साझेदार लगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा आह्वान गर्दछु । खाद्य पदार्थमा स्वच्छता कायम गर्न हामी सबै प्रतिबद्ध बनौं, विश्व खाद्य स्वच्छता दिवस, २०७७ को हार्दिक शुभकामना ।

२५ जेठ, २०७७
७ जून, २०२०



प्रतिक्रिया दिनुहोस !