२० बैशाख २०८१, बिहिबार

रोल्पा बम विष्फोटका पीडित परिवारद्धारा राहत रकम अस्वीकार,शहिद घोषणा माग गर्दै आन्दोलनमा

प्रकाशित मिति :  8 June, 2020 9:40 am


रोल्पा, २६ जेठ ।

रोल्पा त्रिवेणी गाउँपालिकामा बम विस्फोटमा परि मृत्यु भएकाका परिवारले सरकारले दिएको राहत अस्वीकार गर्दै आन्दोलनको घोषणा गरेका छन् ।

संघीय सरकारले दिएको ५ लाख र प्रदेश सरकारले दिएको १ लाख रुपैयाँ राहत अस्वीकार गर्दै चरणबद्ध आन्दोलनका घोषणा गरेका हुन् । विष्फोटमा ज्यान गुमाएका ४ बालबालिकाका पिडित परिवारलाई उचित न्यायका लागि भन्दै संघर्ष समिति गठन गरेर आन्दोलन सुरु गरेका छन् ।

संघर्ष समितिका संयोजक कृष्ण कुमार नेपालीको हस्ताक्षरमा ४ बुँदे माग राखेर  त्रिवेणी गाउँपालिकालाई ज्ञापन पत्र बुझाईएको छ । ज्ञापनपत्रको बोधार्थमा जिल्ला प्रशासन कार्यालय रोल्पा,मुख्यमन्त्रीको कार्यालय प्रदेश – ५ बुटवल, गृह मन्त्रालय सिंहदरबार, काठमान्डौलाई राखिएको छ ।

ज्ञापनपत्रमा चारै जना मृतक बालबालिकालाई बाल शहिद घोषणा गर्नुपर्ने पीडित परिवारलाई अन्य शहिद परिवारले पाए सरहको सेवा सुबिधा तथा उचित क्षतिपूर्ति पाउनुपर्ने, घटनाको सत्य तथ्यलाई छानविन गरि दोषीलाई कारबाहीको माग गर्नुपर्ने तथा गाउँपालिकाको सार्वजनिक स्थलमा चारै जना मृतक बालबालिकाको नाममा शहिद स्मारक निर्माण गर्नुपर्ने पीडितका अफन्त तथा परिवारले माग गरेका छन् ।

संघर्षका कार्यक्रम अनुसार हिजो ज्ञापनपत्र बुझाएका उनीहरुले भोली धर्ना जुलुस गर्ने, जेष्ठ ३० गते गाँउपालिकाको कार्यालयमा तालाबन्दी गर्ने, असार ५ गते अनशन बस्ने कार्यक्रम तयार गरिएको छ ।

सरकारले द्धन्द्धकालिन घटनामा ज्यान गुमाएका व्यक्तिलाई शहिद घोषणा गर्दा दश लाख रुपैयाँ क्षतिपूर्ति दिने गरेको थियो । रोल्पाका मानव अधिकारकर्मी घनश्याम आचार्यले द्धन्द्धकालकै घटनासँग जोडिएकाले शहिद घोषणा गर्नु उपयुक्त हुने बताए । उनले भने,‘ द्वन्द्वका कारण नै घटना भएकाले चार जनालाई पनि सहिद घोषणा गर्नु उपयुक्त छ । सरकारले ५ लाख रुपैयाँ राहत दिने घोषणा गरेपछि आत्मसम्मानमा ठेस पुगेकाले पनि विरोध भएको देखियो।’

त्रिवेणी गाँउपालिकाको वडा नम्बर ७ मा बैशाख १८ गते साँझ बम बिस्फोट हुँदा १३ वर्षीय गौरव नेपाली, ५ वर्षीय बिजय खत्री, ११ वर्षीय बिमला खत्री, र १४ वर्षीय नोखिराम डाँगीको मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस !