१६ बैशाख २०८१, आइतबार

‘एक गाउँ, एक प्राविधिक’ को आधा जनशक्ति कटौति, जाेगाउन स्थानीय तहलाई कृषि मन्त्रालयकाे प्रस्ताव

प्रकाशित मिति :  8 June, 2020 10:09 am


लक्ष्मी ज्ञवाली

काठमाडौं, २६ जेठ ।

आगामी आर्थिक वर्षमा ‘एक गाउँ एक, प्राविधिक’ कार्यक्रमबाट नियुक्त कृषि तथा भेटेनरी प्राविधिकको दरबन्दी आधा कटौती हुने भएको छ ।

सरकारले आव ०७७/७८ को बजेट वक्तव्यमै प्राविधिक कटौतीको व्यवस्था गरेपछि हाल कार्यरत २ हजार ५ सय ३७ मध्ये करिव ५० प्रतिशत कृषि तथा भेटेनरी प्राविधिककाे जागिर गुम्ने जोखिम बढेको हो ।

वैकल्पिक व्यवस्था नगरेमा करिव १ हजार ५ सय प्राविधिक बेरोजगार हुने भएकाले दरबन्दी कटौति हुन नदिन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले स्थानीय तहलाई आधा जनशक्तिको खर्च व्यवस्थापनको प्रस्ताव गरेको छ ।

आगामी आर्थिक वर्षमा एक स्थानीय तह एक कृषि र पशुसेवा प्राविधिक का लागि यस मन्त्रालयको भैपरी आउने खर्चमा ५० करोड विनियोजन भएको र यसले हाल कार्यरत आधा जनशक्तिलाई मात्र तलब भत्ता उपलब्ध गराउन सक्ने मन्त्रालयको स्पष्टोक्ती छ ।

‘उक्त बजेटलाई हाल स्थानीय तहहरुमा निरन्तर रुपमा कार्यरत सबै कृषि तथा पशुसेवा प्राविधिकहरुको आगामी आ.व. मा हुन आउने तलबको आधा तलब वापतको बजेट यस मन्त्रालयबाट व्यवस्था हुने भएकाले बाँकी आधा बजेट स्थानीय तहबाट नै विनियोजन गर्न तहाँ मन्त्रालयबाट आवश्यक समन्वय गर्नु हुन अनुरोध छ,’ मन्त्रालयको सचिवस्तरिय निर्णयपश्चात संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् स्थानीय तहलाई आइतबारको मितिमा पठाइएको च.नं. ३६८ नम्बरको पत्रमा भनिएको छ ।

चालू आर्थिक वर्षमा स्थानीय तहमा कृषि तथा भेटेनरी प्राविधिकको व्यवस्था गर्न लागू गरिएको कार्यक्रमबाट ६ सय ६० स्थानीय तहमा कृषितर्फ एक हजार एक सय ५९ र पशुसेवा तर्फ २ हजार ५ सय ३७ जनशक्ति कार्यरत छन् ।

मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीले आइतबार एक सार्वजनिक कार्यक्रममा बाेल्दै भएकै नरबन्दी अनुसार कृषि प्राविधककाे दरबन्दी खाली रहेकाे तर बजेट कटाैती भएपछि पदपूर्ती भन्दा पनि कार्यरत कै दरबन्दी जाेगाउन समस्या परेकाे बताएका थिए ।



प्रतिक्रिया दिनुहोस !