१७ बैशाख २०८१, सोमबार

सहुलियतको कृषि ऋण गाडी र साडीमा गयो,अब किसानमै जाने सुनिश्चित गर्छौंः कृषि मन्त्री भूसाल

प्रकाशित मिति :  8 June, 2020 7:11 pm


काठमाडौं, २६ जेठ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भूसालले कृषकको नाममा विनियोजित वित्तिय लगानी कृषकसम्म नपुगेको बताएका छन् ।

‘हामीले अहिले पनि ५० अर्व सहुलियतका ऋण बाँडेका त छौं तर बैकरहरु नै भन्छन् ३३ प्रतिशत पनि किसान कहाँ गएको छैन, माथि माथि जान्छ,’ भूसालले भने, ‘कहिलेकाँही अलिक ठट्योलो भाषामा भन्दा त्यो गाडिमा जान्छ, साडीमा जान्छ, तल किसानमा जाँदैन ।’

यस्तो अवस्थालाई रोक्नका लागि काम गर्ने उनले बताए । किसानको नाममा जाने अनुदान माथि रोकिने नभइ तल माटोमै लगानी हुने कुराको ज्ञारेन्टी हुनपर्छ भन्ने योजना अगाडि बढाएको बताए ।

प्रतिनिधिसभामा बजेटमाथीको छलफलमा सांसदले उठाएको प्रश्नमा जवाफ दिदै  उनले आफूले प्रस्ताव गरे अनुसार बजेट नआए पनि भएकै बजेटबाट कृषकको हितमा काम गर्ने बताए ।

उनले कृषिका नाममा गरिएको लगानीले किसान र कृषि दुबैको हित नगरेको भन्दै संविधान अनुकुल नीतिगत सुधार गर्दै कृषिको जग बसाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

सीमान्तले निव्यार्जी, सानाले ३ प्रतिशत र मझौला तथा ठूला किसानलाई पनि वित्तिय पहुँचमा ज्ञारेन्टी तथा बीमा व्यवस्था लागू हुनपर्ने व्यवस्था गर्ने, हरेक बालीबस्तुको समर्थन मूल्य तोक्ने व्यवस्था आफ्नो रहेको बताए । किसानको न्युनतम बचत आफ्नो योजना रहेको उनको भनाइ छ ।

दलाल पुँजीबादलाई अन्त्य गर्न संरक्षित कृषि, सुनिश्चित कृषिको अभियानलाई अगाडि बढाउने, संविधान अनुकुल कृषिका नीति र ऐन पुननिर्माण गर्ने, ठूला परियोजनाको पुनर्संरचना गर्ने, बालीको न्युनतम समर्थन मूल्य तोक्ने, किसान बजारको ज्ञारेन्टी जस्ता विषय बजेटमा परेको बताए ।

कृषिमा नयाँ तथ्यांकको लागि अध्ययन गर्ने र सोको आधारमा सबैखाले कृषिका समस्या समाधान गर्नेतर्फ अग्रसर हुने, स्थानीय तह र कृषक बजारलाई केन्द्रीत गर्ने, बाँझो जमिनलाई उपयोग गर्ने लगाएतका काम गर्ने बताए ।

केही असन्तुष्टि रहे पनि बजेटमा मात्र आफू बोल्न आएको भन्दै उनले थप कुरा गर्न चाहेनन् । तर संसद प्रदिप गिरीले आफूलाई चक्रब्यूहमा फसेको भनेको तर्फ जवाफ दिंदै भने, ‘चक्रब्यूहमै फसेको रहेछु भने पनि मलाई चक्रब्यूहबाट निस्कन छेक्ने कुनै जयद्रथ यहाँ छैनन् ।’



प्रतिक्रिया दिनुहोस !