२४ बैशाख २०८१, सोमबार

कांग्रेसलाई प्रधानमन्त्रीको जवाफ,‘१० अर्ब रुपैयाँको हिसाब खोज्ने बेला भएको छैन’

प्रकाशित मिति :  10 June, 2020 1:40 pm


काठमाडौं, २८ जेठ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले कोरोना नियन्त्रण तथा उपचारमा खर्च भएको १० अर्ब रुपैयाँको हिसाब खोज्ने बेला नभएको जवाफ दिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाको खर्च पारदर्शी भएको र एक एक हिसाब संसदमा पेश गर्न माग गरेपछि प्रधानमन्त्रीले अहिले नै हिसाब खोज्ने बेला नभएको बताएका हुन् । उनले जेमा पनि अनियमितता देख्ने प्रवृत्ति रहेको प्रधानमन्त्रीको टिप्पणी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानन्त्री ओलीले भने, ‘दश अर्ब रुपैयाँ खर्च भए कहाँ भयो भन्ने प्रश्न आए। त्यसको प्रणाली छ। केन्द्रले प्रदेश र स्थानीय तहमा पठाउँछ। प्रदेशले स्थानीय तहमा पठाउँछ। अहिले कामका बेला लेखा परीक्षणमा बढी केन्द्रित भएका छैनौं। अहिले काममा केन्द्रीत भएका छौं । रकम पठाइएको छ।’

यदि कतै अनियमितता भएको भए छानबिन गर्ने र दोषी पाइए कारबाही प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाए । प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार गर्न पर्खिएर बसेका थिए, अलिकति रकम पाउनासाथ अनियमितता गरे भनेर आशंका गर्नुपर्ने स्थिति होइन ।’

स्थानीय तहहरू जनतालाई सुविधा राहत पुर्‍याउन काम गरिरहेका भन्दै प्रधानमन्त्रीले यत्रो ठूलो आपत आइलाग्दा बजेटको खर्चको सीमा रहेको उल्लेख गरे ।

प्रधानमन्त्रीले भने,‘ स्थानीय तहले जसरी काम गरिरहेको छ, छ म प्रशंसा गर्न चाहान्छु। हामीले भावनामा चोट पुग्ने गरी शब्दावली प्रयोग गर्न हुँदैन।’ उनले सरकारको कामप्रति आफू सन्तुष्ट रहेको समेत बताए ।



प्रतिक्रिया दिनुहोस !