२० बैशाख २०८१, बिहिबार

१ लाख टन मल भारतमै रोकियो, नेपाल भित्राउन प्रयास जारी

प्रकाशित मिति :  10 June, 2020 8:31 pm


काठमाडौं, २८ जेठ ।

कृषि तथा पशुपन्क्षी मन्त्रालयले एक लाख टन मल भारतमै रोकिएको भन्दै ल्याउन कूटनीतिक पहल जारी रहेको बताएको छ ।

बन्दरगाह बन्द र मजदुर अभावका कारण तेश्रो मुलुकबाट कलकत्तामा आइसकेको ५० हजार मेट्रिक टन मल १ महिना १५ दिनसम्म अलपत्र परेको भन्दै जेठको पहिलो हप्ता आइपुग्नु पर्ने मल हालै मात्र भारतमा लकडाउन खुकुलो भएपछि आउने क्रम सुरु भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

कृषि सचिव राजेन्द्र प्रसाद भारीले आज जारी गरेको विज्ञप्तिमा गुजरातको कान्डला बन्दरगाहमा पनि २१ हजार ५ सय मेट्रिक टन युरिया मल १ महिना १५ दिनदेखि रोकिएको उल्लेख छ ।

कलकत्ता बन्दरगाह बन्द भएकाले उक्त मल कान्डला बन्दरगाहबाट नेपाल ल्याउन गरिएको प्रयास जारी रहेको भन्दै  कृषि तथा पशुपन्छी विकास मन्त्रालय, परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली राजदुतावासको निरन्तर कूटनीतिक प्रयासका बाबजुद पनि हालसम्म उक्त परिमाणको मल ल्याउन नसकिएको सचिव भारीले विज्ञप्तिमा जनाएका छन् ।

नेपालमा लकडाउनले गर्दा असार दोश्रो साता नेपाल आइपुग्ने गरी ठेक्का प्रक्रिया पुरा भएको ५० हजार मेट्रिक टन युरिया मल हालै मात्र चलान हुने प्रक्रियामा रहेको भन्दै मन्त्रालयले भारतको कलकत्ता हुंदै नेपाल आईपुग्न अझै डेढ महिना लाग्न सक्ने जनाएको छ ।

यस वर्षको वर्षे सिजन शुरु भएसँगै रासायनिक मलको मागमा अत्याधिक वृद्धि भएको समेत मन्त्रालयले जनाएको छ । मन्त्रालयले भनेको छ,‘चालु आर्थिक वर्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट ४ लाख ५० हजार मेट्रिक टन अनुदानित रासायनिक मल आपूर्ति गरी किसानलाई वितरण गर्ने कार्यक्रम रहेको छ । जुन गत आर्थिक वर्षको भन्दा १ लाख मेट्रिक टन बढी हो ।’

यसवर्ष रासायनिक मलको आपूर्ति र वितरण कार्य नियमित भइरहेको अवस्थामा विश्वव्यापी रुपमा कोरोना महामारी फैलिदा समस्या भएको कृषि मन्त्रालयको भनाई छ । नेपालमा रासायनिक मल चीन र खाडी मुलुकबाट आयात हुन्छ र भारतको कलकत्ता बन्दरगाह प्रयोग गरी नेपाल ल्याउने गरिन्छ ।

नेपाल लगायत रासायनिक मल आयात गर्ने सबै देशहरु कोरोनाबाट नराम्ररी प्रभावित भए र महामारीबाट बच्न सबै देशहरु लकडाउनमा गए । नेपाल र भारतमा गत चैत्रबाट सँगसँगै जस्तो लकडाउन सुरु भएको थियो भने चीनमा पहिलेदेखि नै लकडाउन जारी थियो ।

रासायनिक मल बढी आवश्यक पर्ने समय असार दोश्रो सातासम्म सबै परिमाणको मल आयात गरी किसानलाई वितरण गर्ने योजना अनुसार सम्पूर्ण काम समयमै पुरा गरिसकेको भएपनि १ लाख मेट्रिक टन मल कोरोना महामारीका कारणले हालसम्म बाटोमा नै रोकिएकोे कृषि मन्त्रालयको भनाई छ ।

मन्त्रालयले विज्ञप्तिमा भनेको छ,‘यद्यपी गत आर्थिक वर्षको तुलनामा यसवर्ष कूल परिमाणमा २५ हजार मेट्रिक टन भन्दा बढी मल आयात तथा वितरण गरिसकिएको छ र लक्ष्य अनुरुप प्रकृयामा रहेका रासायनिक मल समयमै आयात गर्ने सबैखाले प्रयास भइरहेको   छ ।’

रासायनिक मल युरिया, डिएपी र पोटास मध्ये कृषकहरुको बढी रोजाईमा युरिया मात्र पर्ने गरेको उल्लेख गर्दै मन्त्रालयले आफ्नो विज्ञप्तिमा भनेको छ,‘ तर युरिया मल मात्र धेरै प्रयोग गर्दा माटोको गुणस्तर बिग्रने र मलबाट प्राप्त हुने फाइदा पनि कम हुने कुरालाई ध्यानमा राख्दै तीन वटै प्रकारका रासायनिक मल सन्तुलित मात्रा मिलाएर प्रयोग गर्न यस मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।’

मल अभावको विद्यमान अवस्थामा केही डिलर÷सहकारीहरुले बढी मूल्य लिई रासायनिक मल बिक्री वितरण गरेको भन्ने गुनासो आएको भन्दै मन्त्रालयले कारवाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले भनेको छ,‘कानून विपरितको त्यस्तो कार्य नगर्न र अटेर गरी यस्ता कार्य जारी राखेमा प्रचलित कानून वमोजिम कडा कारवाही हुने जानकारी गराइन्छ । ’



प्रतिक्रिया दिनुहोस !