२० बैशाख २०८१, बिहिबार

विदेशमा अफ्ठेरोमा परेका नेपाली फर्काउन कार्यतालिका,पहिलो चरणमा २४ हजार फिर्ता हुँदै

प्रकाशित मिति :  11 June, 2020 12:27 pm


काठमाडौं, २९ जेठ ।

सरकारले विदेशमा लकडाउनका कारण अफ्ठेरोमा परेका नेपाली फर्काउन कार्यतालिका भाडा दर सार्वजनिक गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडानको मिति र भाडा दर तोकेको हो।

मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्ससँगै अब विदेशी जहाजले पनि उडान गर्न पाउने छन् ।

पहिलो चरणको प्राथमिकतामा परेका ३० देशका २४ हजार १ सय ४८ नेपाली स्वदेश फिर्तीका लागि तालिका तयार पारेर कोभिड १९ व्यवस्थापन केन्द्र सिसीएमसीलाई बुझाएको पर्यटन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सीसीएमसीलाई उपलब्ध गराएको तालिका अनुसार जेठ २९ गतेदेखि असार ११ गतेसम्म पहिलो चरणको उडान तालिका छ ।

३० देशबाट नेपालीलाई ल्याउन कूल ६७ वटा उडान हुनेछन् । जस अन्तर्गत नेपाल एयरलाइन्सले २४, हिमालय एयरलाइन्स १९ र विदेशी जहाजले २४ वटा उडान भर्ने तय भएको छ ।

उडान तालिका निम्न अनुसार छ:
जेठ २९ गतेः कुवेतबाट दुई उडान
जेठ ३२ गतेः बंगलादेश
असार १ गतेः माल्दिभ्स, मलेसिया, साउदी अरब, सिंगापुर, कम्बोडिया र ओमन
असार २ गतेः संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, श्रीलंका र माल्दिभ्स
असार ३ गतेः अष्ट्रेलिया, थाइल्यान्ड, बहराइन, बंगलादेश, कतार र संयुक्त राज्य अमेरिका
असार ४ गतेः साउदी अरब, संयुक्त अरब इमिरेट्स, मलेसिया र ओमन
असार ५ गतेः जापान, कुवेत, साउदी अरब र नाइजेरिया
असार ६ गतेः साइप्रस, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, बंगलादेश र युरोपियन युनियन
असार ७ गतेः दक्षिण कोरिया, ओमन, कुवेत र मलेसिया
असार ८ गतेः अष्ट्रेलिया, थाइल्यान्ड, पाकिस्तान र कतार
असार ९ गतेः जापान, माल्दिभ्स, संयुक्त अरब इमिरेट्स र युगान्डा
असार १० गतेः साउदी अरब, कुवेत
असार ११ गतेः साइप्रस र इजरायल

भाडादर

मन्त्रालयले विदेशबाट हुने नेपालीको उद्धारका लागि निर्धारण गरेको भाडादर अनुसार  साउदी अरबको दमामका लागि ५ सय ९० डलर, रियादका लागि ६ सय ३० डलर, जेदहाका लागि ७ सय ७० डलर, कुवेतका लागि ५ सय ७० डलर, कतारको दोहाका लागि ५ सय ४५ डलर, ओमानका लागि ५ सय १० डलर, यूएईको दुबई, आबुधावी र शारजाहका लागि ५ सय डलर भाडा छ ।

यस्तै मलेसियाको क्वालालाम्पुरका लागि ५ सय २० र बहराइनका लागि ५ सय ४५ डलर तोकिएको छ। नारिताका लागि ९ सय ३५ डलर, जोर्डनका लागि ८ सय १५, साइप्रसका लागि ८ सय ७५, लन्डनका लागि १ हजार ३ सय ४० र जर्मनीको फ्रांन्कफर्टका लागि १ हजार २ सय ५५ डलर भाडा तोकिएको छ ।

हङकङका लागि पाँच सय ५०, माल्दिभ्सका लागि पाँच सय ५, कम्बोडियाका लागि ४ सय, बैंककका लागि ३ सय ९०, नयाँ दिल्लीका लागि २ सय ५, बैंगलोरका लागि ३ सय ३५, मुम्बईका लागि ३ सय १०, बंगलादेशका लागि एक सय ६५ र सुडानको खार्तुनका लागि ९ सय ४० डलर तय भएको छ ।

चार्टर्ड उडानको नाममा ट्राभल एजेन्सीले अत्यधिक पैसा असुल गरेको गुनासो आएपछि सरकार आफैले भाडादर तोकेको हो । टिकेटिङको व्यवस्थापन एयरलाइन्सले नै गर्नुपर्ने छ ।
कुनै पनि क्षेत्रमा न्यूनतम ८५ प्रतिशत यात्रु भएपछि एयरलाइन्सले चार्टर्ड उडान गर्ने छ ।

नेपाल आउने यात्रुले पिसिआर तथा आरडीटी परीक्षणबाट नेगेटिभ रिजल्ट रहेको प्रमाण पेस गर्नुपर्ने सर्त राखिएको छ । त्यस्तै नेपाल आएपछि सरकारको नियम अनुसार क्वारेन्टाईनमा बस्नुपर्ने छ ।

सरकारले विदेशबाट फर्काउन तयारी सुरु गरेपछि सम्बन्धित देशमा दुतावासहरुले समन्वय सुरु गरेका छन् । उनीहरुले प्राथमिकतामा परेका यात्रुको नाम समेत सार्वजनिक गर्न थालेका छन् ।



प्रतिक्रिया दिनुहोस !