२१ बैशाख २०८१, शुक्रबार

लकडाउन खुकुलोःनिजी सवारी साधन सञ्चालन गर्न दिने,कार्यालयहरु सबै खुल्ने

प्रकाशित मिति :  11 June, 2020 6:31 pm


काठमाडौं, २९ जेठ । 

सरकारले लकडाउनको ढाँचा परिवर्तन गर्दैै खुकुलो बनाएको छ । निजी सवारी साधन सञ्चालन गर्न दिनुका साथै सरकारी कार्यालय समेत पूर्ण रुपमा खुल्ला गर्ने निर्णय गरेको छ ।

त्यस्तै सबै उद्योग कलकारखाना सञ्चालन गर्न दिने निर्णय गरेको हो । हिजो बसेको मन्त्री परिषद् बैठकको निर्णय सार्वजनिक गर्दै अर्थ, सूचना तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले सरकारले निजी सवारीलाई जोर विजोर प्रणालीमा चल्न दिने निर्णय गरेको जानकारी दिए । तर सवारी एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाउने छैनन् । गाडीमा चालकबाहेक २ जना र मोटरसाईकलमा एक जनामा मात्रै हिड्न पाउने छन् ।

त्यस्तै सरकारी र निजी कम्पनीका कर्मचारी बोक्नका लागि पनि जोर—बिजोर प्रणालीमा सवारी चलाउन पाइनेछ। यसरी सवारी चलाउँदा एक लहरका सिटमा एक जनाका दरले मात्र यात्रु राख्ने र मास्क लगाउनेलगायत सबै स्वास्थ्य सावधानी अपनाउनु पर्नेछ । अब हिँडडुलमा भने कुनै रोकटोक हुने छैन । प्रवक्ता खतिवडाका अनुसार यो व्यवस्था २१ दिनका लागि लागु हुने छ ।

सरकारी तथा गैरसरकारी संस्था, निजी तथा सार्वजनिक संस्थाहरु समेतका कार्यालयहरु २ सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता खतिवडाले जानकारी दिए । पहिलो सिफ्ट बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चल्नेछ भने दोस्रो सिफ्ट दिउँसो १ बजेदेखि बेलुकी ६ बजेसम्म चल्नेछ ।

बैङ्क तथा वित्तीय संस्थाहरूले पूर्ण रुपमा खुला हुने भएका छन् । नेपाल सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अब बैङ्क तथा वित्तीय संस्थाहरू पूर्ण रुपमा खुला हुने जानकारी दिए ।

यसअघि एक तिहाइ कर्मचारीहरूमात्रै राखेर बैंकहरूले सीमित शाखाबाट मात्रै सेवा दिइरहेका थिए भने अधिकांश जसो सहकारी संस्थाहरू बन्द थिए। प्रवक्ता खतिवडाले बैङ्कका सबै शाखाहरू खुला गरेर सेवा दिन पाउने जानकारी दिए ।  सरकारले उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकले सबै उद्योग, व्यापार व्यवसाय पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने निर्णय गरेको छ ।  तर सपिङ मल भने खोल्न पाईने छैन ।  प्याकिङ र टेक अवे सेवा दिने गरी रेस्टुरेन्टहरु खुला गर्न दिने भएको छ ।



प्रतिक्रिया दिनुहोस !