१९ मंसिर २०८२, शुक्रबार

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीमाथि भ्रष्टाचार मुद्दा, रु १ करोड ८ लाखको अवैध सम्पत्ति आरोप

प्रकाशित मिति :  3 June, 2025 5:44 am


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार सोडारीले माघ ७, २०७४ देखि फागुन १०, २०७९ सम्मको अवधिमा वैधानिक आय रु ८५ लाख ५१ हजार ३३४ मात्र देखिएको छ । तर, सोही अवधिमा उनले खर्च र लगानी गरेर रु १ करोड ९३ लाख ८९ हजार ६३६ बराबरको सम्पत्ति जोडेको देखिएको छ ।

आयोगले आय र खर्चबीचको असन्तुलनका आधारमा रु १ करोड ८ लाख ३८ हजार ३०२ को स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको निष्कर्ष निकालेको छ ।

पूर्वमुख्यमन्त्री सोडारीले आफ्नो पदीय हैसियतको दुरुपयोग गरी श्रीमती गैता सोडारी र छोरा बबि सोडारीको नाममा जग्गा किनमेल, घर निर्माण तथा बैंक खातामा रकम जम्मा गरेको पाइएको आयोगले जनाएको छ । आयोगले सार्वजनिक सेवा आचरणविपरीत गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरिएको भन्दै सो रकमलाई भ्रष्टाचारको रूपमा व्याख्या गरेको छ ।

यसै आधारमा आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको व्यवस्था अनुसार विशेष अदालतमा मुद्दा दायर गर्दै सम्पूर्ण अवैध सम्पत्तिको विगो माग समेत गरेको हो ।

सोडारी नेपाली कांग्रेसका तर्फबाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित सांसद हुन् । उनी सुदूरपश्चिम प्रदेशको पहिलो सरकारका मुख्यमन्त्रीसमेत थिए ।

भ्रष्टाचारविरुद्धको अनुसन्धानमा यो मुद्दालाई गम्भीर उदाहरणको रूपमा लिइएको आयोगले जनाएको छ । आयोगले जनप्रतिनिधि वा उच्चपदस्थ व्यक्तिहरूको गैरकानुनी आर्जनमाथि अनुसन्धान गर्दै जाने प्रतिबद्धता पनि दोहोर्याएको छ ।



प्रतिक्रिया दिनुहोस !