भिजिट भिसा प्रकरण : प्रतिपक्षकाे तीनबुँदे निष्कर्ष, उच्चस्तरीय छानबिनको माग
बैठकले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीप्रति संसद्ले उच्च गम्भीरता देखाउनुपर्नेमा जोड दिएकाे छ
काठमाडौँ । भिजिट भिसाका नाममा मानव तस्करी भइरहेको गम्भीर आरोपका सन्दर्भमा संघीय संसद्मा जारी बहसबीच प्रतिपक्षी दलहरूले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकक्षमा बसेको बैठकबाट तीन बुँदे निष्कर्ष निकालेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाका अनुसार बैठकले श्रम ऐन, २०६४ पछि देखिएका भिजिट भिसा प्रकरणहरूदेखि हालका गृहमन्त्रीको कार्यकालसम्मको विषय समेट्ने गरी स्वतन्त्र र सक्षम उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने र समितिका सुझावहरूका आधारमा दीर्घकालीन समाधानका लागि सर्वपक्षीय प्रतिबद्धता जनाउने, छानबिन प्रक्रिया निष्पक्ष र प्रभावहीन बनाउन वर्तमान गृहमन्त्रीले छानबिन परिणाम नआएसम्म राजीनामा दिएर अनुसन्धानमा सहकार्य गर्नुपर्ने सुझाव दिने निष्कर्ष निकालेकाे छ ।
त्यसैगरी यस गम्भीर विषयमा प्रधानमन्त्री स्वयं संघीय संसद्मा उपस्थित भई जिम्मेवारी लिनुका साथै स्पष्ट धारणा राख्नुपर्ने माग राख्ने निर्णय गरेकाे छ ।
तीन बुँदे निष्कर्षसहित प्रतिपक्षी दलका प्रमुख सचेतकहरू सभामुखको कार्यकक्षमा जारी बैठकमा सहभागी भएका छन् । उक्त बैठकमा भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीप्रति संसद्ले उच्च गम्भीरता देखाउनुपर्नेमा जोड दिइएको छ।
प्रतिपक्ष दलहरूले यो विषयलाई केवल गृहमन्त्रीको भूमिकासँग मात्र सीमित नराखी, राज्य संयन्त्रको समग्र जवाफदेहितासँग जोडेर निष्पक्ष छानबिनको वातावरण निर्माण गर्न आग्रह गरेका छन् ।








