उत्पादन बढी हुँदा तरकारी सस्तो, किसानले मूल्य पाउनै छोडे
काठमाडौँ । पछिल्लो समय उत्पादन बढी हुँदा तराकारी सस्तो हुनुका साथै विक्री गर्न समेत व्यापारीलाई हम्मेहम्मे पर्न थालेको छ ।
अन्य खेतीपाती गर्न छाडेर धेरैले तरकारी खेती गर्न थालेपछि उत्पादन बढी भएका कारण बजारमा ज्यादा तरकारी आएको व्यापारीहरुले बताए ।
कालिमाटी फलफूल तथा तरकारी बजारमा व्यापार गर्दै आएका चेतबहादुर थिङले तरकारी उत्पादन ज्यादा भएपछि तरकारीको मूल्य न्युन भएको र बेच्न समेत नसक्ने अवस्था आएको बताए ।
उनका अनुसार पहिले धान रोप्ने खेतमा अहिले धेरैले तरकारी लगाउन थालेपछि उत्पादन ज्यादा भएको हो । धादिङ, सर्लाही, काभ्रे, मकवानपुर लगायतबाट राजधानीमा तरकारी भित्रने गरेको छ ।
खेतबारीको तरकारी सिध्यिएपछि असार साउनबाट भाउ बढ्नसक्ने सम्भावना छ । लौका १५–२० रुपैयाँ, करेला २०–२५ रुपैया, बोडी १५–२० रुपैयाँमा बेच्नु परेको कुनै भाउ छैन । न व्यापारीलाई फाइदा न किसानलाई ।
तरकारी व्यापारी चेतबहादुर थिङले भने, ’’धान रोप्ने खेतमा अहिले तरकारी बढी रोपाईं धेरै भएकाले उत्पादन बढी भयो । अहिले इण्डिया तिरको तरकारी छैन । धादिङ, सर्लाही, काभ्रे, मकवानपुरसहितका जिल्लाबाट तरकारी आउने गरेको छ । भारतीय तरकारी अहिले त्यती छैन । उत्पादन बढि भएरै तरकारी सस्तो भएको हो ।”
व्यापारीहरुका अनुसार अहिले तरकारी नबिकेर कुहिएर फाल्नुपरेको छ । तरकारी नबिकेपछि आफूहरुलाई ठूलोमात्रमा घाटा लागिरहेको उनीहरुको भनाई छ ।
कालिमाटीमा व्यापार गर्दै आउनुभएका अर्का व्यापारी विष्णु कार्कीले पनि उत्पादन बढी भएकै कारण तरकारीको भाउ सस्तो हुन पुगेको बताए । उनले नेपाली तरकारीसँगै भारतीय समेत केही आएकाले बजारमा धेरै तरकारी भएको बताए ।
उनले भने, “नेपालमा पनि उत्पादन बढी छ अहिले । बजार पनि धेरै भयो । व्यापारीक स्टलहरु पनि ठाउँठाउँमा भए । सस्तो भएपछि मान्छेले खान मनपराउँदैनन । त्यही भएर होला तरकारी नबिकेको ।”
देशको अवस्था समेत ठिक नभएका कारण मान्छेको क्रय शक्ति कमजोर भएका कारण तरकारी विक्री नभएको कार्कीको बुझाइ छ ।








