२० बैशाख २०८१, बिहिबार

नेपालको नयाँ नक्शा : संविधान संसोधन विधेयक प्रतिनिधि सभाबाट पारित

प्रकाशित मिति :  13 June, 2020 5:57 pm


काठमाडौं,३१ जेठ ।

प्रतिनिधि सभामा पेश भएको संविधान संसोधन विधेयक दुईतिहाईसहित सर्वसहमतिले पारित भएको छ ।

सरकारले जारी गरेको नयाँ नक्शा अनुसारको निशान छाप संसोधनका लागि प्रतिनिधि सभामा पेश भएको विधेयक आज  पारित भएको छ ।

मत विभाजनका क्रममा संसदमा उपस्थित सबै सांसदले संसोधनका पक्षमा मतदान गरेका थिए । बैठकमा उपस्थित सबै २ सय ५८ जना सांसदले पक्ष संसोधनको पक्षमा मतदान गरेका थिए । प्रस्तावको विपक्षमा कुनैपनि मत परेन ।

मत गणनापछि सभामुख अग्नि सापकोटाले संविधान दुईतिहाईले पारित भएको घोषणा गरे । घोषणापछि सांसदहरुले लामो समयसम्म तालि बजाएका थिए ।

यसअघि संसोधन विधेयकको दफावार छलफलमा भाग लिँदै आजको दिनलाई ऐतिहासिक र राष्ट्रिय एकता थप मजबुत भएको दिनको रुपमा व्याख्या गरेका थिए । सबै दलले विधेयकका पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई व्ह्पि समेत जारी गरेका थिए ।

नेपालको संविधान-२०७२ मा लिम्पियधुरा,कालापानी,लिपुलेकको भूभाग निशान छापको नक्शामा थिएन । सरकारले यि भूभागलाई समेटेर नक्शा जारी गरेपछि त्यसै अनुसार निशान छाप परिवर्तन गर्न संविधान संसोधन विधेयक दर्ता गराएको थियो ।

नेपाल सरकार मन्त्रिपरिषद् बैठकले जेठ ५ गते नेपालको लिम्पियाधुरा,कालापानी,पिलुलेक समावेश गरेको नयाँ नक्शा स्वीकृत गरेको थियो ।
स्वीकृत नक्शा भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मन्त्रालयमै नियमित पत्रकार सम्मेलन गरेर जेठ ७ गते सार्वजनिक गरेकी थिईन् ।

नयाँ नक्शा अनुसार निशान छाप संसोधन दर्ता गराउन सरकारले जेठ ९ गते संविधान संसोधन विधेयक संसदमा दर्ता गराएको थियो । भारत सरकारले नेपाली भूमिमा सडक बनाएर उद्घाटन गरेको सार्वजनिक गरेलगत्तै नेपाल सरकारले नयाँ नक्शाको प्रकृया सुरु गरेको थियो ।
प्रतिनिधि सभाले संविधान दोस्रो संसोधन विधेयक पारित गरेपछि अब राष्ट्रिय सभामा जाने छ ।

राष्ट्रिय सभाबाट पनि पारित भएर राष्ट्रपतिले प्रमाणिकरण गरेपछि लिम्पियाधुरा,कालापानी,लिपुलेकसहितको भूभाग रहेको निशान छाप औपचारिक रुपमा प्रयोगमा आउने छ ।



प्रतिक्रिया दिनुहोस !