५ जेष्ठ २०८१, शनिबार

ललितपुर प्रहरीद्धारा विप्लव कार्यकर्ताको डेराबाट ठूलो मात्रामा विष्फोटक पदार्थ बनाउने सामाग्री बरामद

प्रकाशित मिति :  13 June, 2020 9:21 pm


काठमाडौं,३१ जेठ । 

महानगरीय प्रहरी परिसर ललितपुरले ठूलो मात्रामा विष्फोटक पदार्थ बनाउन प्रयोग हुने सामान बरामद गरेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला सदस्य सानुराजा महर्जनको डेराबाट ठूलो मात्रामा विष्फोटक पदार्थ बनाउन प्रयोग हुने सामान बरामद गरिएको ललितपुर प्रहरीले जनाएको छ ।

प्रहरीले बरामद गरेका सामानमा ह्याण्ड ग्रिनेड बनाउन प्रयोग हुने पहेलो रंगको बाहिर कभर ९८ थान, हरियो रंगको कभर ८५ थान, आधा विष्फोटक पदार्थ भरिएको हरियो रंगको ग्रिनेट ३५ थान, विष्फोटक पदार्थ बनाउन प्रयोग हुने विभिन्न कच्चा पदार्थ १४ थान, विष्फोटक पदार्थ बनाउन प्रयोग हुने स्टिल बल बट्टा ९ थान, स्टिल बल प्याकेट १२ थान रहेका छन् ।

त्यस्तै रिमोर्ट २ थान, विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने औजार तथा उपकरणहरु र विप्लव नेतृत्व नेकपा निकट दस्तावेजहरु बरामत गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

सानुराजालाई हिजो आफ्नै घर ललितपुर महानगरपािलका ११ ईखाछेबाट पक्राउ गरेको थियो । उनको साथबाट कटुवा पेस्तोल र विष्फोटक पदार्थ बरामद गरेको प्रहरीको भनाई छ । थप खानतलास गर्दा महर्जनको तर्केश्वर नगरपालिका वडा नम्बर ११ नेपालटारमा रहेको डेरामा  विष्फोटक पदार्थ बनाउन प्रयोग हुने सामान र दस्तावेजहरु भेटिएको प्रहरीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !