१८ बैशाख २०८१, मंगलबार

रोल्पामा संक्रमित थपिदै गएपछि कोडिभ-१९ आईसोलेशन केन्द्रद्धारा सहयोगको आग्रह

प्रकाशित मिति :  14 June, 2020 9:01 am


रोल्पा,३२ जेठ ।

रोल्पामा संक्रमित थपिदै गएपछि कोडिभ-१९ आईसोलेशन केन्द्रले सहयोगको आग्रह गरेको छ । हिजोसम्म जिल्लामा ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

एक्कासी संक्रमितको संख्या बढेपछि केन्द्रले सहयोगको आग्रह गरेको हो । केन्द्रको नेतृत्व गरिरहेका डा.अनिल के.सी.द्धारा संक्रमितको अवस्थाबारे जानकारी दिन जारी गरेको विज्ञप्तिमा सहयोगको पनि आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘संक्रमितको संख्या बढेसँगै व्यवस्थापन एवं उपचारमा थप चुनौति थपिएको हुँदा सबै सरोकारवालामा जनशक्ति, औषधी, जनशक्ति, र सामाग्री व्यवस्थापनमा सहयोग,सद्भाव हौसला प्रदान गरिदिनुहुन अनुरोध छ ।’

आइसोलेशन केन्द्रमा जिल्ला अस्पतालका डाक्टर अनिल के.सीको नेतृत्वमा तीन जना टोली खटिएको छ । डाक्टरसहित एक जना हेल्थ असिष्टेन्ट र एक जना कार्यालय सहयोगीले उपचार केन्द्र हेर्दै आएका छन् । केन्द्र स्थापना गर्दा ३ जना संक्रमित देखिएका थिए । तर संक्रमित संख्या बढ्दै गएपछि थप जनशक्ति आवश्यक परेको केन्द्रको भनाई छ ।

केन्द्रको नेतृत्व गरिरहेका डा. अनिल के.सी.ले कम्तिमा पनि प्रशासनिक सहयोग गर्ने मान्छेको आवश्यक परेको बताए । उनले भने,‘ चिकित्सक र स्वास्थ्यकर्मीको हिसाबले अहिले ठिकै छ तर हामीलार्ई तत्काल गैर प्राविधिक जनशक्ति चाहिएको छ । हामी उहाँहरुलाई विरामीको नजिक जान दिदैनौ तर प्रशासनिक सहयोग आवश्यक परेको छ । कसैले चाहनुहुन्छ भने स्वयंसेवीको रुपमा पनि काम गर्न सक्नुुहुन्छ ।’ डा.के.सीले संक्रमित आउने स्थानीयपालिकाले सहयोगि पठाईदिए सहज हुने बताए ।

केन्द्रका प्रमुख डा.केसीले पीपीई,मास्क लगायतको समाग्रीपनि अभाव भएको बताए । उनले लुम्बिनी सञ्चारसँग भने,‘ संक्रमित थपिदै छन् । अहिले चुनौति भनेकै यसलाई दिर्घकालिन कसरी लैजाने भन्ने हो ।’

जिल्ला अस्पतालका सूचना कुल ब. डाँगीले भने,‘केन्द्र स्थापना गर्दा तीन जना मात्रै संक्रमित थिए अब संक्रमित बढिरहेका छन् अब अलि गाह्रो हुन भयो ।’  उपचार केन्द्रको संयोजन जिल्ला समन्वय समितिका संयोजकले गरिरहेकाले छिट्टै निर्णय हुने डाँगीको अपेक्षा छ । उनले भने,‘ निर्णय त हुन्छ होला तर हामीलाई अलि छिटो आवश्यक पर्यो र आग्रह गरेका हौं । ’

कोरोना संक्रमण फैलिएपछि आपतकालिन उपचारका लागि जिल्ला अस्पतालले कोष स्थापना गरेको थियो । अहिलेसम्म कोषमा डेढ लाख रुपैयाँ मात्रै जम्मा भएको छ । स्थानीय पालिकाले ५० हजार रुपैयाँ दिने निर्णय गरेपनि अहिलेसम्म सबै तहबाट आईनसकेको अस्पतालले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !