२१ बैशाख २०८१, शुक्रबार

लद्दाखमा चीनको सेनासँग भएको झडपमा तीन भारतीय सैनिक मारिए

प्रकाशित मिति :  16 June, 2020 1:34 pm


काठमाण्डौं,२ असार ।

भारत र चीनको सीमा क्षेत्र रहेको लद्दाखमा दुई देशका सेनाबीच झडप हुँदा तीन भारतीय सैनिक मारिएका छन् । गएराति भएको झडपमा एक जना अधिकृत र दुई जवान मारिएको भारतीय सेनाले पुष्टि गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पछिल्लो समय उक्त क्षेत्रमा तनाव जारी छ र यसलाई कम गर्न दुबै देशका वरिष्ठ सैन्य अधिकारीहरुबीच पहल भईरहेका बेला यो घटना भएको हो ।

भारतीय सेनाले भनेको छ,‘गलवान घाटीमा सोमबार राती तनाव कमगर्ने प्रयास भईरहेकै बेला भारत र चीनका सेनाबीच हिंसक झडप भएको छ । र,यसै क्रममा भारतीय सेनाका एक अधिकृत र दुई जवान शहिद भएका छन् । दुबै देशका वरिष्ठ सैन्य अधिकारी अहिले यस विषयलाई शान्त गर्न महत्पूर्ण बैठक बसिरहेका छन् । ’

यद्यपी यो घटनापछि परस्थिति लद्दाख क्षेत्रमा गम्भीर बनेको भारतीय सञ्चार माध्यमले टिप्पणी गरेका छन् । भारत र चीनबीच मे महिनाको सुरुवातदेखि नै लद्दाखको सीमा क्षेत्रमा तनावपूर्ण अवस्था बनिरहेको छ ।

चिनियाँ विदेश मन्त्रालयले घटनाको पुष्टि गर्दै भारतीय सैनिकले यसअघिको सहमतिविपरीत दुई पटक सीमा पार गरेर आएको र उत्तेजित पार्ने खालको आक्रमण गरेपछि झडप भएको दाबी गरेको छ ।

झडपमा चिनियाँ सैनिकतर्फ पनि हताहती भएको भारतले दाबी गरेपनि बेइजिङले भने यसबारे बोलेको छैन । सैनिक मारिएपछि भारतीय रक्षामन्त्री राजनाथ सिंहले मंगलबार भारतका तीन वटा सैनिक संगठनका प्रमुखहरूसँग छलफल गरेका छन्। ४५ वर्षपछि भारत-चीन सीमामा पहिलो पटक भारतीय सैनिकको मृत्यु भएको  हो ।



प्रतिक्रिया दिनुहोस !