८ बैशाख २०८१, शनिबार

नेपाली कांग्रेस रोल्पाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठायो

प्रकाशित मिति :  16 June, 2020 6:36 pm


रोल्पा,२ असार ।

नेपाली कांग्रेस रोल्पाले कोरोना रोकथाम तथा नियन्त्रणमा प्रभावकारी बनाउनुपर्ने लगायतका माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । केन्द्रदेखि ७७ प्रदेशकै जिल्ला समितिले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तर्गत रोल्पा कांग्रेसले पनि ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्रमा नेपाली कांग्रेस रोल्पाले भारत लगायत तेस्रो मुलुकबाट कोरोना बोकेर मानिसहरु आइरहेको बेलामा सही व्यवस्थापन नगरी हतारमा बिना योजना लकडाउन खुकुलो बनाउँदा कोरोनाको महामारी उच्च जोखिम रहेको भन्दै यसलाई कसरी धान्न सकिने हो यसतर्फ सरकार गम्भीर बन्न जरुरी रहेको उल्लेख छ ।

ज्ञापनपत्रमा भनिएको छ,‘सरकारले जनशक्ति र स्वास्थ्य सामग्रीको अपर्याप्तता देखाएर पीसीआर परीक्षण सुस्त गतिमा गर्ने, मानवीय सम्वेदनशीलताको ख्याल नगरी मापदण्ड बिनाका क्वारेन्टाइनहरु निर्माण गर्ने र ती क्वारेन्टाइन नै संक्रमण बढाउने कारखानाको रुपमा परिणत गराउने जस्ता काम गरेको छ । त्यसैले पीसीआर परीक्षणलाई प्रभावकारी बनाउन प्रत्येक जिल्लामा पीसीआर परीक्षण हुने व्यवस्था गर्न जरुरी छ ।’

क्वारेन्टाइनहरुमा भएको खर्चमा भ्रष्टाचार भएको, क्वारेन्टाइनमा बसेकाहरुलाई उचित खानपिनको व्यवस्था हुन नसकेको, कोरोनाको नाममा विभिन्न शीर्षकहरुमा अनियमित खर्च भएकोले सरकारले जनतालाई क्षतिपूर्ती दिनु पर्ने नेपाली कांग्रेस रोल्पाको माग छ ।

अस्पतालहरुमा बेडको अभाव पूरा गर्ने, उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, सफाइकर्मी र प्रत्यक्ष सम्पर्कमा आउने पत्रकारलाई समेत जोखिम हुने भएकोले उनीहरुका लागि कम्तीमा १ करोडको बिमा गर्ने र उपचार अवधीभर उनीहरुपनि आइसोलेसनमा नै बस्ने व्यवस्था अनिवार्य गर्नु पर्ने ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापनपत्रमा भनिएको छ,‘स्थानीय तहहरुले स्वास्थ्य सामग्री लगायत राहत वितरणमा निश्चित मापदण्ड तोक्नुपर्दछ साथै अहिले राहत पाउनुपर्नेले नपाउने र नपाउनु पर्नेले पाउने जस्ता काम भएका छन् । तसर्थ वितरण प्रणाली भोटका आधारमा नभई उचित मापदण्डका आधारमा बनाउन सरकारको ध्यान जान जरुरी छ ।’

विपन्न र श्रम गरेर जीविकोपार्जन गर्ने नागरिकहरु खानाको अभावमा भोकका कारण मृत्युवरण गर्ने अवस्थासम्म पुग्नु आदि कारणले गर्दा स्थिति भयावह अवस्थामा रहेको भन्दै ज्ञापनपत्रमा भनिएको छ,‘असहाय र अशक्तहरुको उचित व्यवस्थापन नगरे उनीहरु भोकभोकै मर्ने स्थिति छ, तैपनि सरकार उदासिन र असंवेदनशील अवस्थामा पुगेको देखिन्छ ।

त्यसैले संघीय, प्रदेश र स्थानीय सरकारले रोजगारीको सिर्जना गर्न जरुरी छ ।’ कांग्रेस रोल्पाले बजेट उत्पादनमुखी र रोजगारमुखी नभएकोले यसलाई तुरुन्त सच्याई दिनदिनै धरासायी बन्दै गइरहेको कृषि, पर्यटन, उद्योग र यातायात व्यवसायलाई पुनर्उत्थान गर्न र विश्वव्यापी कोरोनाको विरुद्धमा लड्न वास्तविक राहतको कार्यक्रम ल्याउनुपर्ने लगायतका माग पनि राखिएको सभापति अमरसिंह पुनमगरले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !