१७ बैशाख २०८१, सोमबार

मन्त्री भूसालकाे कृषि क्रान्तिकाे पहिलाे खुड्किलाेः रोप्नु अघि धानको समर्थन मूल्य तोकियो

प्रकाशित मिति :  16 June, 2020 9:57 pm


लक्ष्मी ज्ञवाली
काठमाडौं, २ जेठ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भूसालको कृषि क्रान्तिका पाँच नीतिगत सुत्रमध्ये एकको कार्यान्वयन प्रक्रिया अगाडि बढेको छ ।
मंगलबार बसेको मन्त्रीपरिषद् वैठकले मध्यम धानको समर्थन मूल्य प्रति क्वीन्टल २ हजार ८ सय ८५ र मोटा धानको समर्थन मूल्य २ हजार ७ सय ३५ मूल्य निर्धारण गर्ने निर्णय गरेको हो ।

किसानको उत्पादनको मूल्यको ज्ञारेन्टी गर्ने नीति अनुरुप नेपालमै पहिलो पटक रोपाइ हुनु अगावै धानको समर्थन मूल्य तोकिएको हो । किसानले धानको तोकिएको मूल्य भन्दा बढी मूल्य नपाएमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्नेछ ।

‘संरक्षित कृषि, सुनिश्चित वचत’को नीति अनुरुपको पाँचौं नीतिमा उचित बचतको ग्यारेन्टीसहित मुख्य बालीको समर्थन मूल्य तोकिने विषय समेटिएको छ । यसअघि धानको मूल्य धान काट्ने समयमा मात्र तोकिदा यसबाट कृषकले लाभ लिन सकेका थिएनन् ।

मन्त्री भूसालको पाँच सुत्रमध्ये पाँचौ बुँदामा भनिएको छ, ‘किसानले उत्पादन गर्ने मुख्यबाली वस्तुको उत्पादन लागतको मूल्यांकन गरेर उचित वचतको ग्यारेन्टी हुने गी न्यूनतम समर्थन मूल्य तोकिनेछ र उक्त मूल्यमा किसानको उत्पादन विक्री नभए सरकारले खरिद गर्ने व्यवस्था     गर्नेछ ।’

कृषि मन्त्रालयले सिफारिस गर्ने, उद्योग तथा वाणिज्य मन्त्रालयले प्रस्ताव गर्ने प्रचलन अनुसार मन्त्री परिषदले निर्णय गरेको हो । यसअघि गहुँको मूल्य तोकि सकिएको छ भने मकैको तयारी भइरहेको मन्त्रालयले बताएको छ ।

देशभरीबाट औषत लागत मूल्यको अध्ययन गरि लागत किसानलाई करिव २० प्रतिशत नाफा सुनिश्चित गरिएको मन्त्रालयका प्रवक्ता हरि बहादुर केसीकाे भनाइ छ । आगामी वर्ष कृषि गणना गरि कृषि र किसानको तथ्यांक अद्यावधिक गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ।

चालू वर्षका लागि मोटा धान प्रतिक्विन्टल २ हजार ५३१ रुपैयाँ २२ पैसा र मध्यम धामको मल्य प्रतिक्विन्टल २ हजार ६७३ रुपैयाँ १६ पैसा तोकिएकोमा ढिला गरि तोकिएकाले प्रभावकारी भएन ।

सुरुवात राम्रो भएको तर आगामी दिनमा विस्तृत अध्ययन गरेर समर्थन मूल्यको कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज वस्नेतले बताए । छिमेकी राष्ट्र भारतमा याे अभ्यास वर्षाैंदेखि प्रचलनमा छ ।



प्रतिक्रिया दिनुहोस !