२० बैशाख २०८१, बिहिबार

चिनियाँ सेनासँगको हिंसात्मक झडपमा २० भारतीय सैनिक मारिएको पुष्टि

प्रकाशित मिति :  16 June, 2020 10:15 pm


काठमाण्डौं,२ असार ।

चिनियाँ सेनासँग गएराति भएको हिंसात्मक झडपमा २० भारतीय सेनाको मृत्यु भएको पुष्टि भएको छ । आज दिउँसो एक जना कर्णेलसहित ३ जनाको मात्रै मृत्युभएको समाचार सार्वजनिक भएको थियो । तर, भारतीय सेनाको उच्च स्रोतलाई उदृढ गर्दै भारतीय टेलिभिजन आजतकको अनलाईन संस्करणले २० सैनिक मारिएको पुष्टि गरेको छ ।

गएराति दुबै पक्षका सेनाबीच हिंसक झडप भएको थियो । झडपमा गोली भने नचलेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पछिल्लो समय उक्त क्षेत्रमा तनाव जारी छ र यसलाई कम गर्न दुबै देशका वरिष्ठ सैन्य अधिकारीहरुबीच पहल भईरहेका बेला २० भारतीय सैनिक मारिएका छन् ।

भारतीय सेनाले विहान भनेको थियो ,‘गलवान घाटीमा सोमबार राती तनाव कमगर्ने प्रयास भईरहेकै बेला भारत र चीनका सेनाबीच हिंसक झडप भएको छ । र,यसै क्रममा भारतीय सेनाका एक अधिकृत र दुई जवान शहिद भएका छन् । दुबै देशका वरिष्ठ सैन्य अधिकारी अहिले यस विषयलाई शान्त गर्न महत्पूर्ण बैठक बसिरहेका छन् । ’ तर अहिले २० जना भारतीय सेना मारिएको जानकारी आएको छ ।

भारत र चीनबीच मे महिनाको सुरुवातदेखि नै लद्दाखको सीमा क्षेत्रमा तनावपूर्ण अवस्था बनिरहेको छ ।

चिनियाँ विदेश मन्त्रालयले घटनाको पुष्टि गर्दै भारतीय सैनिकले यसअघिको सहमतिविपरीत दुई पटक सीमा पार गरेर आएको र उत्तेजित पार्ने खालको आक्रमण गरेपछि झडप भएको दाबी गरेको छ । चीनले वार्ताकै माध्यमबाट समस्या समाधान गर्न तयार रहेको बताएको छ ।

झडपमा चिनियाँ सैनिकतर्फ पनि हताहती भएको भारतले दाबी गरेपनि बेइजिङले भने यसबारे बोलेको छैन । ४५ वर्षपछि भारत-चीन सीमामा पहिलो पटक भारतीय सैनिकको मृत्यु भएको छ र त्यो पनि अप्रत्यासित रुपमा ठूलो संख्यामा मारिएका छन् ।



प्रतिक्रिया दिनुहोस !