हरि बुढा मगर क्यान्टरबरी विश्वविद्यालयकाे मानार्थ ‘डाक्टर’ उपाधिबाट सम्मानित
काठमाडौं।
क्यान्टरबरी क्राइस्ट चर्च विश्वविद्यालयले नेपाली किर्तिमानी आरोही तथा पूर्व गुरखा सैनिक हरि बुढा मगर, एमबीई लाई मानार्थ डाक्टर उपाधिबाट सम्मानित गरेको छ।
यो विशेष सम्मान विश्वविद्यालयले एक औपचारिक समारोहमार्फत हरिको असाधारण जीवन यात्रा, शारीरिक अक्षमतामाथि विजय, प्रेरणादायी योगदान र सामाजिक कार्यलाई कदर गर्दै प्रदान गरेको हो।
उपाधि ग्रहण गर्दै हरिले आफ्ना बाल्यकालदेखि हालसम्मको संघर्ष सम्झिँदै भावुक प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन् :
“क्यान्टरबरी क्राइस्ट चर्च विश्वविद्यालयलाई यो सम्मानका लागि धन्यवाद। गोठमा जन्मेको एक बालक, हिँडेर खाली खुट्टा स्कुल गएको, पातीमा खरी ढुंगाले लेख्न सिकेको, पटक–पटक स्कूलमा फेल भएको र विश्वविद्यालय नदेखेको त्यो ब्यक्ती, यो उपाधि प्राप्त गर्दा विश्वास लागिरहेको छैन।”
उनले थपे, “शिक्षण संस्थाहरूले केवल किताबमै सीमित नभई जीवनका संघर्ष र सिकाइलाई पनि मूल्याङ्कन गर्छन् र महत्व राख्छन् भन्ने अवुभव भएको छ। आशा छ मेरो कथाले यहांहरूलाई जूबनको जस्तो अबस्थामा पनि चुनौती लिन, हार नमान्न र सपना पछ्याउन प्रेरणा दिनेछ।”
हरि बुढा मगरको जीवन यात्रा
हरि बुढा मगर सन् १९७९ मा रोल्पाको एक सानो गाउँमा गाईको गोठमा जन्मिएका थिए। आर्थिक अभावका कारण उनले कठिन बाल्यकाल व्यतित गरे, विद्यालयमा पटक–पटक असफल भए तर पढाइ र मेहनतलाई छाडेनन्।
१९ वर्षको उमेरमा उनी बेलायती सेनाको रोयल गोरखा रायफल्स मा भर्ती भए र १५ वर्षसम्म पाँच महादेशमा सेवा गरे।
सन् २०१० मा अफगानिस्तानमा तालिबानविरुद्धको कारबाहीका क्रममा विस्फोटक पदार्थ (आईईडी) मा परेर दुबै खुट्टाको घुँडामाथि काटिन पुगे। यो ठूलो दुर्घटनापछि उनले शारीरिक मात्र होइन, मानसिक चुनौतीसँग पनि लड्नुपर्यो। तर उनले जीवनलाई नयाँ दिशामा मोड्दै अपांगता भएका व्यक्तिहरूको सम्भावना र क्षमताबारे विश्वलाई देखाए।







प्रेरणादायी यात्रा र गतिविधि
दुवै खुट्टा गुमाइसकेपछि पनि उनले आफूलाई खेलकुद र साहसिक गतिविधिमा सक्रिय बनाए।साइकल चलाउने, आकाशबाट फाल्ने (प्यारासुटमार्फत), हिमाल चढ्ने, डुंगामा खेप्ने (कायकिङ), हिउँमा स्की गर्ने, ह्वीलचेयरमा दौड प्रतिस्पर्धा गर्ने, बास्केटबल, रग्बी जस्ता खेल खेल्दै उनले “अपांगता कमजोरी होइन, अवसर हो” भन्ने सन्देश दिए।
प्रमुख आरोहण र उपलब्धि
● मेरा पिक (६,४७६ मि) — दुवै घुँडामाथि अपांग भएर ६,००० मिटरभन्दा माथिको पहिलो आरोहण (२०१७)।
● सगरमाथा (८,८४८ मि) — विश्वकै सर्वोच्च शिखर चढ्ने पहिलो दुवै घुँडामाथि अपांग आरोही (मे २०२३)।
● डेनाली (६,१९० मि) — अमेरिकाको सर्वोच्च शिखर आरोहण (जुलाई २०२४)।
● माउन्ट ब्लाङ (४,८१० मि) — युरोपको सर्वोच्च शिखर आरोहण (२०१९)।
● किलिमन्जारो (५,८९५ मि) — अफ्रिकाको सर्वोच्च शिखर आरोहण (२०२०)।
● चुलु फार ईस्ट (६,०५९ मि) — नेपालस्थित हिमाल आरोहण (२०१९)।
● आकान्कागुआ (६,९६० मि) — दक्षिण अमेरिकाको सर्वोच्च शिखर आरोहण, एसियाबाहिरकै सबैभन्दा अग्लो शिखर (फेब्रुअरी २०२५)।
● सात शिखर अभियान — विश्वका सात महादेशका सर्वोच्च शिखर आरोहण गर्ने अभियानमा संलग्न (हालसम्म पाँच शिखर पूरा, बाँकी दुईतर्फ तयारी जारी)।
यी उपलब्धिहरूका कारण उनले गिनिज विश्व रेकर्ड कायम गरेका छन्।
सम्मान र योगदान
● ब्रिटेनको गौरव पुरस्कार (प्राइड अफ ब्रिटेन) २०२३ – असाधारण साहस र योगदानका लागि।
● ब्रिटिश साम्राज्य पदक (एमबीई) – २०२४ – अपांगता सचेतना, साहसिक योगदान र च्यारिटी कार्यको सम्मानस्वरूप। यो पदक उनलाई प्रिन्सेस रोयल ले प्रदान गरेकी थिइन्।
● उनले ब्लेस्मा, गुरखा कल्याण कोष, अन कोर्स फाउन्डेसन, पिलग्रिम ब्यान्डिट्स, टिम फोर्सेस जस्ता संस्थाहरूका लागि लाखौँ पाउन्ड संकलन गरेका छन्।
________________________________________
प्रेरणादायी सन्देश
हरि बुढा मगरले बारम्बार दिएको सन्देश , “सकारात्मक सोच र सही मानसिकता भए असम्भव केही छैन। जीवन अनुकूलनको कुरा हो, चुनौतीलाई अवसरमा बदलौं।”








